सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा कीर्तिमान, चाँदीको पनि बढ्यो

किन बढिरहेको छ मूल्य?

मंगलबार, फागुन २२ २०८०
सुनको मूल्यमा कीर्तिमान, चाँदीको पनि बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। यो साता आइतबार प्रतितोला दुई हजार रूपैयाँले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। 

मंगलबार प्रतितोला दुईहजार रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चारसय रूपैयाँ तोकिएको छ।

यसअघि पुस १२ मा सुन हालसम्मकै उच्च मूल्य एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदी मंगलबार प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि उच्च बिन्दुको यात्रामा रहेको छ। नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यनजस्ता कारण पनि छन्।

अन्तर्राष्ट्रिय बजारमा सोमबार एकैदिन १.४४ प्रतिशतले बढेर प्रतिऔंस २११३ अमेरिकी डलर कायम भयो। जसले गर्दा नेपाली बजारमा पनि मंगलबार एकैदिन प्रतितोला २ हजार रुपैयाँले सुनको मूल्य बढ्यो।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ।

२०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ राष्ट्र बैंकले। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : मंगलबार, फागुन २२ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend