सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पहिलोपटक नेपाली टेनिस खेलाडी श्रेष्ठ र टोयोटाबीच सहकार्यको घोषणा

मंगलबार, फागुन १५ २०८०
पहिलोपटक नेपाली टेनिस खेलाडी श्रेष्ठ र टोयोटाबीच सहकार्यको घोषणा

टोयोटा र नविताबीचको साझेदारी अहिले एक वर्षको लागि भएको हो। युनाइटेड ट्रेडर्सले विगत ५८ वर्षदेखि टोयोटाका कारहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

काठमाडौं- जापानी ब्रान्ड टोयोटाले विश्वका २ सय खेलाडीसँग सहकार्य गर्दै आएकोमा पहिलो पटक नेपाली टेबल टेनिस खेलाडीसँग सहकार्य गरेको छ। नेपाली टेबल टेनिस खेलाडी नविता श्रेष्ठ र टोयोटा मोटरबीच सहकार्यको घोषणा भएको छ।  

टेबल टेनिस खेलमा ९ पटकको राष्ट्रिय विजेता नवितासँगको सहकार्य मंगलबार टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले घोषणा गरेको हो। घोषणा कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठसमेत सहभागी थिए। 

कार्यक्रममा ‘ग्राउन्ड ब्रेकिङ पार्टनरसिप’ भएको जानकारी गराउँदै वैद्यज् अर्गनाइजेशनका निर्देशक सूर्यान्स वैद्यले यो साझेदारीबाट आफुहरु उत्सहित भएको बताए। ‘हाम्रो लामो प्रयासपछि पहिलो पटक नेपाली खेलाडीसँग टोयोटा ग्लोबलकै नेतृत्वमा सहकार्य घोषणा भएको छ,’ निर्देशक वैद्यले भने, ‘यसले समग्र खेल जगतमा नै नयाँ आयाम थपेको छ।’

कार्यक्रममा नेपाल ओलम्पीक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले यो सहकार्य नेपाली खेलाडीको लागि गौरवको दिन भएको बताए। यस्ता किसिमका सहकार्यले खेल, खेलाडी र सम्पूर्ण खेलसँग जोडिएका मानिसलाई उत्साहित बनाउने विश्वास उनले व्यक्त गरे। यो टोयोटा र विश्व ओलम्पीक कमिटिकै निर्णय भएको हुनाले यसले नेपाली खेल क्षेत्र र खेलाडीलाई राम्रो गर्ने श्रेष्ठको भनाइ थियो। 

टोयोटासँगको साझेदारीलाई चुनौतीको रुपमा लिएको टेबल टेनिस खेलाडी नविता श्रेष्ठले बताइन्। ‘यो अवसर र चुनौती दुवै हो। नेपालमा पनि कडा मिहिनेत गरेर आफूलाई अगाडि बढाउनेहरुको सम्मान हुन्छ भन्ने यो साझेदारीले देखाउँछ,’ उनले भनिन्, ‘यो अवसरको लागि टोयोटा नेपाललाई विशेष आभार ब्यक्त गर्दछु।’

टोयोटा र नविताबीचको साझेदारी अहिले एक वर्षको लागि भएको हो। युनाइटेड ट्रेडर्सले विगत ५८ वर्षदेखि टोयोटाका कारहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। टोयोटाले विगत लामो समयदेखि विश्वभर खेलाडीहरुसँग सहकार्य गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend