शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको वैध बजारमै अवैध गतिविधिको आशंका, सुनचाँदी व्यवसायी महासंघतिर सोझियो विभागको अनुसन्धान

बिहीबार , फागुन १० २०८०
सुनको वैध बजारमै अवैध गतिविधिको आशंका, सुनचाँदी व्यवसायी महासंघतिर सोझियो विभागको अनुसन्धान

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले पनि विभागले विवरण मागेको स्वीकार गर्दै विवरण उपलब्ध गराइसकेको बताए।

काठमाडौं- सुन बिक्रीमा घोटाला भएको आशंका गरिएको छ। सरकारले वाणिज्य बैंकहरूमार्फत दैनिक २० किलो सुन बिक्री गर्दै आएको छ। उक्त सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघको सिफारिसमा व्यवसायीलाई उपलब्ध गराइन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा व्यवसायीलाई उपलब्ध गराइँदै आएको सुनको कोटामा घोटाला भएको आशंका गरिएको छ। महासंघले बैंकसँग किनेको र व्यसायीलाई उपलब्ध गराएको सुनको कोटामा गडबडी देखिएपछि सरकारले अनुसन्धान थालेको हो।

सरकारले सुनचाँदीको बिक्रीमा राजस्वछलीको आशंकासहित अनुसन्धान सुरु गरेको छ। राजस्व अनुसन्धान विभागले यस विषयमा अनुसन्धान सुरु गरेको हो।

विभागले अनुसन्धान सुरु भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघसँग पछिल्लो तीन आर्थिक वर्षमा व्यवसायीलाई सिफारिस भएको सुनको परिमाण मागगरी पत्र पठाएको हो। 

महासंघका अध्यक्ष माणिकरत्न रत्न शाक्यले पनि विभागले विवरण मागेको स्वीकार गरे। उनले विभागले मागेको विवरण उपलब्ध समेत गराइसेको बताए।

विभागले महासंघसँग आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा के कति परिमाण सुन कुन कुन व्यवसायीलाई सिफारिस गरेको छ सोको विवरण विभागको अनुसन्धान शाखामा उपलब्ध गरादिन भन्दै पत्राचार गरेको हो।

सुनचाँदीको बिक्रीमा गैरकानूनी रुपमा आर्जन भएको सम्पत्ति प्रयोग भइरहेको निष्कर्षसहित विभागले अनुसन्धान सुरु गरेको हो।

२०६६ देखि सुनमा कोटा प्रणालीको व्यवस्था गरिएको हो। त्यसअघिसम्म व्यवसायीहरू आफैँ सुन आयात गर्थे। सो समयमा वैदेशिक मुद्रामा कमी आएपछि सरकारले सुनमा कोटा लगाउने निर्णय गरेको हो। त्यसपछि वाणिज्य बैंकमार्फत सुन आयात भएर व्यवसायीहरूलाई वितरण हुन थाल्यो।

दैनिक आयात हुने परिमाणको ५० प्रतिशत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउँछ भने ४५ प्रतिशत नेपाल सुनचाँदी रत्न तथा आभूषण र ५ प्रतिशत सुन नेपाल हस्तकला महासंघले पाउँछ। वाणिज्य बैंकमार्फत सुनचाँदी व्यवसायीलाई दिइने र महासंघको सिफारिसमा खुद्रा व्यवसायीलाई दिइने गरिएको छ।


प्रकाशित : बिहीबार , फागुन १० २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend