शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पर्यटन बोर्डबाट नक्कली विदेशी कम्पनीलाई रकम भुक्तानी, ७ वर्षपछि अख्तियारको छानबीन

प्रबन्धक पोखरेल र वरिष्ठ अधिकृत मिश्रको मिलोमतोमा १७ हजार १ सय डलर गएको आशंका

बिहीबार , फागुन १० २०८०
पर्यटन बोर्डबाट नक्कली विदेशी कम्पनीलाई रकम भुक्तानी, ७ वर्षपछि अख्तियारको छानबीन

खासगरी मध्यपूर्वमा रहेको सम्भाव्य उदयीमान पर्यटकीय बजार, संयुक्त इमिरेट्स (यूएई) मा विशेष गरी ‘हाइइन्ड’ मुस्लिम पर्यटकमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको थियो।

काठमाडौं- नेपाल पर्यटन बोर्डका केही कर्मचारीको मिलोमतोमा हुँदै नभएको कार्यक्रममा सहभागी हुनका लागि भन्दै विदेशमा रकम पठाएको खुलेको छ। हुँदै नभएको कम्पनीमार्फत यूएईमा कार्यक्रम हुन लागेको र नेपालका लागि अवसर हुने भन्दै पठाइएको रकम डुबेको छ। 

नेपाल पर्यटन बोर्डले सन् २०१७ मा संयुक्त अरब इमिरेटस् (यूएई) मा ‘वर्ल्ड हलाल समिट २०१७’ मा भाग लिने निर्णय गर्‍यो। 

मध्यपूर्वी एसिया र युरोपसमेत जोड्ने गरेको समिटमा पर्यटन बोर्डले तीन करोड रुपैयाँ बजेट छुट्याएको थियो। उक्त हलाल समिटको आयोजक भने स्पेनी कम्पनी ‘क्याक्ती मिडिया स्पेन एसएल’ थियो। सन् २०१७ को नोभेम्बर २५ देखि २६ सम्म आयोजना हुने कार्यक्रम मिति तय भएको थियो। 

खासगरी मध्यपूर्वमा रहेको सम्भाव्य उदयीमान पर्यटकीय बजार, संयुक्त इमिरेट्स (यूएई) मा विशेष गरी ‘हाइइन्ड’ मुस्लिम पर्यटकमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको थियो।

पर्यटन बोर्डले भाग लिने भन्दै तत्कालीन समयमै ठाउँ बुकिङको लागि अग्रिम १७ हजार १ सय डलर ‘क्याक्ती मिडिया स्पेन एसएल ’ कम्पनीलाई पठाइयो। रकम पठाएको केही दिनपछि कार्यक्रम स्थगित गरिएको ईमेल बोर्डमा आयो- 'पछि समय तोकिएपछि खबर गर्ने छौँ।' तर त्यसपछि कुनै पनि ईमेल बोर्डलाई आएन।

त्यसमा सबै चाँजोपाँजो मिलाउने बोर्डकै कर्मचारी थिए। बोर्डका तत्कालीन बजार प्रवर्द्धन विभागका प्रबन्धक नविन पोखरेल र वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रकै मिलोमतोमा पैसा गएको पाइएको छ। विदेशमा हुने त्यस्ता कार्यक्रमहरूमा प्रवर्द्धन विभागका पोखरेल र वरिष्ठ अधिकृत मिश्रकै योजनामा काम हुने गरेको थियो। ‘वर्ल्ड हलाल समिट २०१७’ मा पनि उनीहरूकै योजना र अध्ययनमा बोर्डले सहभागी हुने निर्णय गरेको थियो।

दुई अधिकृतको मिलोमतोमा नक्कली कम्पनीलाई अहिलेको हिसाबमा झन्डै २४ लाख रकम गएको थियो। बजेट जम्मा ३० लाख छुट्याइएको थियो। तर उनीहरूले पहिले नै अग्रिम भन्दै २४ लाख पठाएको पाइएको छ। मिश्र र पोखरेल अहिले पर्यटन बोर्डको पोखरा शाखामा रहेका छन्। 

tb1.JPG

 

ईमेल फिर्ता नआएपछि बोर्डमा खैलाबैला मच्चिएको थियो। पैसा लगेर कम्पनीले ईमेल फिर्ता नगरेपछि र समिटको अर्को कुनै मिति नआएपछि बोर्डले उक्त समिट र कम्पनीलाई पैसा पठाइको विषयमा यूएई दूतावासलाई ईमेलसमेत गरेको थियो। उक्त ईमेल २०७५ असार २१ मा पठाइएको थियो। दूतावासले उक्त मेला नै नरहेको र कम्पनी पनि यूएईमा नरहेको ईमेल पठाएको थियो। त्यसपछि भने बोर्डमा हल्लाखल्ला भयो।

सन‍् २०१७ को विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबीन थालेको छ। जसमा तत्कालीन बोर्डकै निर्णय भन्दै मिश्र र पोखरेल पन्छिन खोजेका छन्। तर आयोगले छानबीनका लागि भन्दै उक्त विषयमा चासो राख्दै २०८० असोज १२ गते संस्कृति, पर्ययटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो। १५ दिनभित्र उक्त विषयमा विवरण पठाउन पत्र काटिएको थियो। 

मन्त्रालयले पनि अख्तियारको पत्र आएपछि झन्डै १ महिना ढिला गरी २०८० कात्तिक १५ गते बोर्डमा सात दिनभित्र विवरण माग गरेको थियो।

मन्त्रालयमार्फत अहिले बोर्डले नक्कली कम्पनीलाई पठाएको १७ हजार १ सय डलरको विषयको छानबीन अन्तिम चरणमा पुगेको छ। मन्त्रालय स्रोतका अनुसार मिश्र र पोखरेलकै मिलोमतोमा नक्कली कम्पनीमा पैसा गएको हुनसक्ने आंशकासमेत गरिएको छ।

झन्डै ७ वर्षसम्म पनि रकम फिर्ताको पहल नहुनुले गम्भीर आंशकासहित अख्तियारले छानबीन गरिरहेको छ। दूतावासले हलाल समिट र आयोजक कम्पनी नै अस्तित्वमा नरहेको पत्र बोर्डलाई पठाउँदासमेत कुनै पनि पहल नभएको देखिन्छ। 

अहिले पर्यटन बोर्ड सञ्चालकमा समेत उक्त विषयमा समय समयमा छलफल भएपनि अख्तियारले नै छानबीन गरिरहेकोले कुनै निर्णय नगर्ने भन्दै पन्छँदै आएका छन्। तर पैसा पठाउने समयमा समेत कम्पनीको बारेमा कुनै जानकारी नलिइ पैसा पठाउनुमा आंशका देखिएको बोर्डकै उच्च अधिकारीहरू बताउँछन्।

बोर्डका उच्च अधिकारीहरूका अनुसार १७ हजार १ सय डलरमात्रै होइन नक्कली कम्पनीलाई पुनः अर्को किस्तासमेत पठाउन खोजिएको थियो। तर तत्कालीन नेतृत्वले अर्को ईमेल नआएसम्म रकम पठाउन नहुने अडान राखेका थिए। बोर्डको इतिहासमै पहिलोपटक यस्तो गुमराहमा परेर ठगी भएको देखिन्छ। विगतमा पनि रकम बढी पठाउने र उतै सेटलमेन्ट गर्ने गरेकोसमेत आशंका भने गरिएको छ।

नक्कली बजेटको स्टेटमेन्ट गर्ने र अन्तर्राष्ट्रिय मार्टमा सहभागी भएर कमिसनसमेत लिने गरेको आंशका गरिएको छ। बोर्डमा चालु आर्थिक वर्षमा पनि १ अर्ब ५० करोड बजेट बाहिरी कार्यक्रमका लागि तय गरिएको छ। विगतमा पनि एक अर्ब हाराहारीका बजेट खर्च हुने गरेका थिए। बोर्डको बजेटमा सबैभन्दा धेरै खर्च आन्तरिक भन्दा पनि अन्तर्राष्ट्रिय प्रवर्द्धनमा केन्द्रित हुने गरेको छ। 


प्रकाशित : बिहीबार , फागुन १० २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend