शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्वदेशमै भएको स्रोत प्रयोग गरेर सवारी बनाउनुस्, सरकारले सघाउँछ : अर्थमन्त्री

बुधबार, मंसिर २२ २०७८
स्वदेशमै भएको स्रोत प्रयोग गरेर सवारी बनाउनुस्, सरकारले सघाउँछ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालमै सवारी उत्पादनका लागि आवश्यक पर्ने नीतिगत स्थिरता कायम गर्न सरकार तयार रहेको बताएका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्। 

स्वदेशमै रहेको जनशक्ति, जमिन, विद्युत्लगायत आवश्यक पूर्वाधार रहेको अवस्थामा सवारी उत्पादनका लागि उपयुक्त सयम भएको अर्थमन्त्री शर्माको भनाइ थियो। त्यस्तै उनले विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न सकिने बताए। 

‘विद्युतीय गाडीका लागि देखिएको चार्जिङ स्टेशनको समस्या समाधान गर्न हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशनको व्यवस्था गरिने छ,’ मन्त्री शर्माले भने, ‘मुलुकमै भएको स्रोतसाधनको प्रयोगबाट मुलुकको समृद्धि सम्भव छ।’ विद्युत र श्रम शक्ति हाम्रै देशमा पर्याप्त भएकाले त्यही तागतबाट मुलुकको मुहार फेर्न सकिने उनको भनाइ थियो। 

nada 45.jpgकेही क्षेत्रमा सहुलियत दिन सकेमा अन्तर्राष्ट्रिय उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अर्थमन्त्री शर्माको भनाइ थियो। सरकार शासन भन्दा पनि सेवा गर्न बसेको बताउँदै सरकारका कमजोरीका बारेमा सुझाव दिन समेत उनले आग्रह गरेका थिए। 

अर्थमन्त्री शर्माले परम्परागत रुपमा रहेका नीति परिवर्तन गर्ने प्रतिवद्धता समेत जनाए। नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले परम्परागत रुपमा गरिने नीति निर्माणले अहिलेको अवस्थाको व्यवसायलाई सम्बोधन गर्न नसकेको बताएका थिए। ‘सरकार नीति निर्माणमा सरोकारवाला व्यवसायीहरूलाई सहभागी गराएर उनीहरू समेत राय लिनुपर्छ,’ उनले भने, ‘परम्परागत शैलीलाई आधार मानेर गरिने नीति निर्माणले आधुनिक समयलाई सबोधन गर्न सक्दैन।’ 

त्यस्तै कार्यक्रममा नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले सवारीसाधन अत्यावश्व भइसकेकाले सरकारले हेर्ने नजरमा खासै परिवर्तन नआएको बताए। ‘सवारीसाधन तथा सवारीजन्य उतपादन उत्पादकत्व बढाउने कुरा नै हुन्,’ उनले भने, ‘यसलाई विलाशी साधनको रुपमा नहेरि राजस्वमा ठूलो योगदान दिइरहेको यो क्षेत्रलाई राजस्व परामर्श समितिमा प्रतिनिधित्व गराउन आवश्यक छ।’ 

यसैगरि नाडाका उपाध्यक्ष करण चौधरीले सरकारले स्थिर र स्पष्ट नीति लिने हो भने दुईपांग्रे सवारीको एसेम्बल सुइ भइसकेको अवस्थामा चारपांग्रे सवारीको एसेम्बल उद्योग समेत आउने बताए। ‘सवारी एसेम्बल उद्योग स्थापनाका विषयमा सरकारले नीतिगत स्पष्टता र स्थिरता कायम गर्नुपर्छ,’ उनले भने, ‘यो भएको अवस्थामा व्यवसायीहरू नेपालमै चारपांग्रे सवारी एसेम्बल गर्न तयार छन्।’ 

नाडाको ४५औं साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्दै छ। बिहीबार हुने नाडा निर्वाचनमा अध्यक्ष पदका लागि करण चौधरीले समेत उमेद्वारी दिएका छन्। त्यस्तै अध्यक्ष पदमा ध्रुव थापाले समेत उमेद्वारी दिएका छन्। दुबै पक्ष प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन्।   


प्रकाशित : बुधबार, मंसिर २२ २०७८११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend