शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भरतपुर विमानस्थल विस्तारका लागि भोलिदेखि सर्वे हुने

आइतबार, फागुन ६ २०८०
भरतपुर विमानस्थल विस्तारका लागि भोलिदेखि सर्वे हुने

अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ।

चितवन- भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढ्ने भएको छ। यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ। सर्वेको काम सोमबारबाट सुरु गरिने भएको हो। गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो।

भरतपुर विमानस्थलका प्रमुख दीपक बिकका अनुसार आज नै प्राबिधिकहरुको टोली चितवन आइपुग्दै छ। उनले भने, 'सोमबारदेखि काम अघि बढाउँदै छौँ। एक हप्ताभित्र सर्वेको काम सम्पन्न हुनेछ।'

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहितको उपस्थिति थियो। बैठकले विमानस्थल विस्तार र घोडा प्रजन्नन केन्द्र शक्तिखोरमा स्थान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो। सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ।

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो। संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन्। कुल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ। हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन्। विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाईइन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ। प्रमुख दाहालले सबै तिरबाट एकसाथ काम अघि बढ्ने भएकाले विमानस्थल विस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरे।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend