शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

समाज कल्याण परिषद्‍को उपाध्यक्षमा मन्त्रीकी बुहारीलाई नियुक्ति

बुधबार, मंसिर २२ २०७८
समाज कल्याण परिषद्‍को उपाध्यक्षमा मन्त्रीकी बुहारीलाई नियुक्ति

काठमाडौं- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नै बुहारीलाई समाज कल्याण परिषद्‍को उपाध्यक्षमा नियुक्त गरेकी छन्। 

मन्त्री रेग्मीको सिफारिसमा मन्त्रिपरिषदले मोनिका भट्टराई अधिकारीलाई उपाध्यक्षमा नियुक्त गरेको हो। उपाध्यक्षमा नियुक्त मोनिका मन्त्री रेग्मीकी बुहारी हुन्। 

मन्त्री रेग्मीले आफ्नै बुहारीको नियुक्तीको विषयको बचाउ गरेकी छन्। राजनीतिक रुपमा सक्रिय रहेको, पार्टीको सदस्य भएकाले मन्त्रिपरिषदले नियुक्त गरेको उनले बताइन्। 'मेरो बुहारी, छोराले मलाई सहयोग गरिरहेका छन्। राजनीतिक रुपमा पनि उनीहरूले मलाई सहयोग गरिरहेका छन्। फेरि मैले नियुक्त होइन, सरकारले नियुक्त गरेको हो' उनले भनिन्। 

परिषद्‍को उपाध्यक्ष सेरोमोनियल पद भएको र त्यसमा तलब नहुने तर वैठक भएमा भत्तामात्र हुने भएकाले लाभको पद भन्न नमिल्ने मन्त्री रेग्मीको तर्क छ। 

उनले बुहारीमात्र नभएर छोराले पनि आफूलाई मन्त्रालयमा सहयोग गरिरहेको जानकारी दिइन्। उनका छोरा विजय अधिकारी स्वकीय सचिवको रुपमा कार्यरत छन्। 

परिवारभित्रकै मान्छेलाई सरकारी नियुक्ति गरेको भन्दै मन्त्री रेग्मीविरुद्ध गैरसरकारी संस्थाहरूले विरोध जनाएका छन्। 

समाज कल्याण परिषद्‍ले नेपालमा गैरसरकारी संस्थालाई अनुमति, नियमन गर्छ। परिषद्‍को अध्यक्ष मन्त्री हुन्छन्। अब परिषद्‍मा सासु अध्यक्ष बुहारी उपाध्यक्ष भएका छन्।


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend