शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो

आइतबार, माघ २१ २०८०
पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन्। भारी हिमपातका कारण तीन दिनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन। अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा कति पर्यटक त्यहाँ पुग्न सकेका छैनन्।

ढोरपाटन- बिहीबार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ। बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो। 

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन्। भारी हिमपातका कारण तीन दिनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन। हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैनन्। 

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए। पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन्। पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला-६ का स्थानीय वीरबहादुर विकको भनाइ छ। शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको उनले बताए।

'पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा-टाढाबाट गाडी लिएर आएका छन्', उनले भने, 'आज बिहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ।'

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए। 'बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जुर्‍यो', उनले भने, 'हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन।'

उनले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाए। 'बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो', उनले भने।

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ। पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ। हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आएका महेश बुढाथोकीले बताए। आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend