शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणी धाम

शनिबार, माघ २० २०८०
धार्मिक पर्यटनको गन्तव्य त्रिवेणी धाम

त्रिवेणी धाममा रहेको सिसमहलले यहाँ पुग्ने जो कोहीको मन आकर्षित गर्ने गर्दछ। सिसैसिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ।

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अवस्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बनेको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-६ मा अवस्थित त्रिवेणी धाम धार्मिक यात्रामा निस्किनेको रोजाइमा पर्ने गरेको छ।

तमसा, स्वर्ण भद्र र नारायणी नदीको संगमस्थलमा रहेको त्रिवेणी धाम भारतीय सीमा क्षेत्रसँग जोडिएको छ। तीन नदीको संगमस्थल भएकाले त्रिवेणी धामका रुपमा नामकरण गरिएको हो। त्रिवेणी धाम नवलपुरको मात्र नभएर देशकै प्रसिद्ध धार्मिक क्षेत्रका रुपमा परिचित रहेको त्रिवेणी गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए।

त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामका रुपमा चिनिने कार्यकारी निर्देशक भुसालले बताए। धार्मिक मान्यताअनुसार यस धाममा भगवान् विष्णु स्वयं प्रकट भएको विश्वास रहेको उनले बताए। 'पौराणिककालमा गजेन्द्र (हात्ती) नारायणी गण्डकीमा जलविहार गरिरहेको अवस्थामा ग्राह (गोही) ले खुट्टामा समाउँदा लामो समयसम्म युद्ध हुन्छ, गजेन्द्रले भगवान् विष्णुलाई पुकार गर्छन्, गरुडारूढ भगवान् विष्णु अवतार लिइ सुदर्शन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको हुँदा यो क्षेत्र गजेन्द्रमोक्ष दिव्यधाम हुन गएको पौराणिक मान्यता रहेको छ', कार्यकारी निर्देशक भुसालले भने।

यस क्षेत्रको दर्शनले दुःख कष्टबाट छुटकारा र मोक्ष प्राप्तका साथै पितृकार्य श्राद्ध तर्पण जप गर्नाले पितृहरूको मोक्ष प्राप्त गर्ने मान्यता रहिआएको उनले बताए। त्रिवेणी धाममा रहेका गजग्राह, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण, हनुमान, शिव पार्वतीका मन्दिर आदि यहाँका आकर्षणका रुपमा रहेका छन्। योसँगै त्रिवेणी धाममा रहेको सिसमहलले यहाँ पुग्ने जो कोहीको मन आकर्षित गर्ने गर्दछ। सिसैसिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ।

त्रिवेणी क्षेत्रमा दैनिकरुपमा देशका विभिन्न भूभाग र भारतबाट पर्यटक आउने गरेको त्रिवेणी गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भुसालले बताए। ऐतिहासिक धार्मिकस्थलका रुपमा त्रिवेणी रहेकाले धार्मिक पर्यटकको उल्लेख्य आगमन हुने गरेको उनले बताए। 'त्रिवेणी धाम ऐतिहासिक धार्मिकस्थल हो, धार्मिक यात्रामा निस्कने धेरैको गन्तव्य त्रिवेणी पर्ने गर्दछ, भारतबाट यो क्षेत्रमा धेरै धर्मावलम्बी आउने गर्दछ', कार्यकारी निर्देशक भुसालले भने।

तीन नदीको संगमस्थलको किनारमा रहेको त्रिवेणी प्राकृतिकरुपमा आकर्षणयुक्त रहेको छ। 'शान्त, मनोरम क्षेत्र, मन्दिर क्षेत्रमा गुञ्जिने घण्टको आवाज, धार्मिक धुनले मन नै आनन्दित बनाउँछ, यहाँ आउँदा मनमा शान्ति प्राप्त भएजस्तो लाग्यो', रूपन्देहीबाट त्रिवेणी घुम्न आएका पुरुषोत्तम अर्यालले भने। त्रिवेणी क्षेत्रमा रहेका पुराना मन्दिर, धर्मशाला, नवनिर्मित कलात्मक मन्दिर, तीन नदीको संगमस्थलले आफूलाई थप आकर्षित गरेको उनले बताए।

त्रिवेणी धाममा साउनमा धार्मिक यात्रामा आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ। माघे औँसी, शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ। त्रिवेणी धाम क्षेत्रलाई थप विकास गरी धार्मिक पर्यटकको गन्तव्यका रुपमा देशकै प्रमुख गन्तव्य बनाउन सकिने सम्भावना रहेको विनयी त्रिवेणी-६ का वडाध्यक्ष नरेन्द्र शाहले बताए। त्रिवेणी धामलाई नजिक रहेको वाल्मीकि आश्रमसँग जोड्नसक्ने हो भने थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताए।

नारायणी नदी पारी पर्ने वाल्मीकि आश्रम जान निर्मित झोलुंगे पुल सञ्चालन गरी दुई धार्मिकस्थललाई जोड्नसक्ने हो भने धार्मिक करिडोरका रुपमा विकास गर्न सकिने उनले बताए। 'नारायणी वारी र पारी दुई प्रसिद्ध ऐतिहासिक धार्मिक क्षेत्र त्रिवेणी र वाल्मीकि आश्रम छन्, दुवैलाई एउटै मार्गमा जोड्नसके पर्यटकलाई सहज हुन्छ, अझ धेरै पर्यटकको आगमन त्रिवेणीमा हुन्छ', वडाध्यक्ष शाहले भने। त्रिवेणी र वाल्मीकि आश्रमलाई जोड्ने गरी नारायणी नदीमा झोलुंगे पुल निर्माण गरिएको छ। लामो समय बित्दासमेत पुल सञ्चालनमा आउन सकेको छैन। रासस


प्रकाशित : शनिबार, माघ २० २०८०१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend