शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् कहिले सुरु होला?

कम्पनी खडा भएकै पाँच वर्ष पूरा, तर उत्पादनमा अझै छैन सुरसार

बुधबार, माघ १७ २०८०
१० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् कहिले सुरु होला?

धौवादी खानीबाट १० करोड मेट्रिक टन फलाम उत्खनन् कहिले सुरु होला?

काठमाडौं- सरकारले धौवादी फलाम कम्पनी खडा गरेको पनि पाँच वर्ष भइसकेको छ। फलाम उत्पादन सुरु गरेर २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न लक्ष्यसहित पाँच वर्षअगाडि सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको थियो।

सरकारले केही वर्षयताका बजेट कार्यक्रममा धौवादी फलाम खानीबाट व्यावसायिक रुपमा फलाम उत्पादन गर्ने घोषणा गर्दै आएको छ। 

केही दिनअगाडि सम्पन्न साधारणसभामा समेत अब निकट भविष्यमै फलाम उत्पादन गर्ने वाचा गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले सुनाए। कहिले कसरी सुरु हुन्छ भन्ने विषय चाहिँ यकीन छैन। अहिलेसम्मको कामको प्रगति हेर्दा फलाम उत्खनन् सुरु गर्न अझै धेरै समय लाग्ने  देखिन्छ।

अहिलेकै गतिमा काम गर्ने हो भने अझै वर्षौं कुर्नुपर्ने निश्चित छ। ९ करोड ९० लाख टन फलाम भए पनि ९ करोड ६० लाख टन उत्खनन् गर्न सकिने लक्ष्य राखिएको खानीबाट खर्बौं रुपैयाँ बराबरको आम्दानीमात्रै होइन ठूला उद्योगको कच्चापदार्थका लागि आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ।

नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्दछ। धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले नै देखाइसकेको छ।

मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातमा एक चौथाइ कम गर्न सकिने कम्पनीको अनुमान छ।

खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका-५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी उत्खनन् कार्यलाई अगाडि बढाइए पनि काम द्रुत गतिमा हुन नसकेको सरकारी अधिकारीहरू नै स्वीकार गर्छन्। 

विभागले गरेको अध्ययनका क्रममा हुप्सेकोटको धौवादीको १० किलोमिटर क्षेत्रमा फलामको ठूलो खानी पत्ता लागेसँगै मन्त्रिपरिषद्को विसं २०७६ भदौ ४ गतेको निर्णयबाट ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको थियो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्दले धौवादी फलामखानीले मुलुककै अर्थतन्त्र कायापलट हुने बताए। उत्खनन् गर्न जटिल र प्राविधिक विषय धेरै जोडिने भएकोले अहिले प्राविधि कामहरू धमाधम भइरहेको उनले बताए। ‘अहिले भौगर्भिक अध्ययन, ड्रिलिङ कार्य, रासायनिक परीक्षण र फलामको धाउ कित्ताकाट तथा नक्सांकन सम्पन्न गरेको छ,’ चन्दले भने। 

केही समयअघि मात्रै बल्ल एउटा अध्ययनले व्यावसायिक रुपमा फलाम उत्पादन सकिने प्रतिवेदन दिएको छ। कुल ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाइको थियो। 

चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको भन्दै दिएको निष्कर्ष बल्ल नेपाललाई प्राप्त भएको छ।

खानीमा फलामे छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिकता प्रमाणित गर्न विभागले पाँच टन फलाम गत वर्ष नै चीन पठाएको थियो। 

धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलाम रिजर्भ रहेको देखाएको छ। जसका कारण विगतको अध्ययनभन्दा पनि बढी उत्खनन् गर्न सकिने विभागको बुझाइ छ। यसअघि गरेको अध्ययनबाट उक्त फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डारण रहेको प्रक्षेपण गरिएको थियो। 

कम्पनीका अनुसार खानीको फलाम उत्पादन तथा प्रशोधनका लागि करिब १२५ मेगावाट विद्युत आवश्यक पर्ने आँकलन गरिएको छ। 

देशको सबैभन्दा ठूलो फलाम खानीको रुपमा हेरिएको उक्त खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ।


प्रकाशित : बुधबार, माघ १७ २०८००७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend