शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पर्यटन प्रवर्द्धन गर्न बागलुङमा थालियो धुरीमार्ग निर्माण

मंगलबार, माघ १६ २०८०
पर्यटन प्रवर्द्धन गर्न बागलुङमा थालियो धुरीमार्ग निर्माण

बागलुङ नगरपालिका-१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा-गाजाको दह, घोडाबाँधे बेलढुंगा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ।

बागलुङ- पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको ५० लाख रूपैयाँले धुरीमार्ग निर्माण सुरु गरिएको हो।

धुरीमार्ग करिब डेढ सय किलोमिटर हुनेछ। बागलुङ नगरपालिका-१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा-गाजाको दह, घोडाबाँधे बेलढुंगा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ।

मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो। यस वर्ष करिब एक किलोमिटर पदमार्ग निर्माण हुनेछ। गत पुस ११ गतेदेखि निर्माण सुरु गरिएको धुरीमार्ग हालसम्म चार सय मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिए। धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उनको भनाइ छ।

उनका अनुसार धुरीमार्ग स्लेट ढुंगा, रेलिङ, ढलानसहितको हुनेछ। स्लेट ढुंगा ताराखोला गाउँपालिका-१ माझखर्कबाट ढुवानी गरेर ल्याउँदा महँगो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताए। आगामी जेठको १५ गतेसम्म सक्ने गरी सम्झौता भएको जनाउँदै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए वैशाख दोस्रो साता नै काम सक्ने बताए।

यस वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उनको भनाइ छ। भौगोलिक कठिनाइ र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरिरहेको अध्यक्ष थापाले बताए।

उनले भने, 'इन्जिनियरको ‘स्टिमेट’ अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुंगाको गुणस्तरमा ध्यान दिनुपर्ने छ, भिरपहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेटअनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीय नै बन्छ।'

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवर्द्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताए। यो पदमार्ग पूरा गर्नका लागि एकै वर्षमा सम्भव नभएको भन्दै बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाएको मन्त्री थापाको भनाइ छ।

बागलुङमा समथर भू-भागदेखि अग्ला पहाडका टुप्पोसम्म पर्यटकीय गन्तव्य रहेको हुँदा तल्लो क्षेत्रमा सडक र माथिल्लो क्षेत्रमा धुरीमार्गको प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटक घुम्न सक्ने उनले बताए।

'धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङमा बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्नेछन् भने त्यस आसपासमा रहेका घरबास ‘होमस्टे’, होटल र रेष्टुरेन्ट राम्रोसँग चल्नेछन्, स्थानीय उत्पादनले बजार पाउनेछन्', मन्त्री थापाले भने, 'पर्यटन प्रवर्द्धनका साथसाथै रोजगार सृजना पनि हुने छ, यहाँ यात्रा गर्ने पर्यटकले बागलुङका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने छन्।' रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend