बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

काभ्रेको एउटै वडाबाट दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

मंगलबार, माघ १६ २०८०
काभ्रेको एउटै वडाबाट दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमाडौं र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन्। फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ।

धुलिखेल- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्तला निर्यात गर्ने लक्ष्य लिइएको छ। यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका-४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए।

उनले वडा नं-४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताए। उनका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ। यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ।

'मैले वार्षिक एक लाख ५० हजार रूपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु', वडाध्यक्ष लामाले भने, 'यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ।' भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए।

केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उनको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका-४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रवर्द्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताए।

'गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग गर्‍यौँ, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु', उनले भने, 'किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ।'

पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवर्द्धन कार्यक्रम लागु हुने गरी १० लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको उनले बताए। विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताए।

गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिंगे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तलाखेती हुँदै आएको पालिकाले जनाएको छ। 

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमाडौं र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन्। फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend