आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लोप हुँदै चोयाका सामग्री, संरक्षण गर्न युवालाई सीप हस्तान्तरण

images
मंगलबार, माघ १६ २०८०
images
लोप हुँदै चोयाका सामग्री, संरक्षण गर्न युवालाई सीप हस्तान्तरण

मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ। मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो।

images
images
images

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिइन्। '६ जना महिलासहित ३० जनालाई तालिम दिएका हौँ', उनले भनिन्, 'निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सिकाएका छौँ।'

images
images

माघ १४ गतेदेखि सुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ। चोयाका सामान बनाउन रघुगंगा गाउँपालिका-७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुगेका छन्। चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ।

images
images

'अघिल्लो पुस्ताका नागरिकको मृत्यु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरणमैत्री हुन्छन्', उनले भने।

पलास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उनले बताए। प्रशिक्षक पाइजाका अनुसारप्रति डोकालाई एक हजार रूपैयाँदेखि दुई हजार पाँचसय मूल्य पर्छ।

साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए।

'पुर्ख्यौली सीपको संरक्षण र नयाँ पुस्तामा सीपको हस्तान्तरण भएको छ', तालिमको अनुगमनका क्रममा सोमबार घराम्दी गएका कटुवालले भने, 'गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने पलास्टिकजन्य सामानको आयात घटाउँछ।'

यस्तो सीपमूलक तालिम अन्य गाउँबस्तीमा पनि आवश्यक रहेको उनले बताए। अन्नपूर्ण गाउँपालिकामा पाँचवटा सामुदायिक सिकाइ केन्द्र रहेका छन्। भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागी सामुदायिक केन्द्र छन्। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend