शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झोलुंगे पुलले जोड्यो पञ्चकोट र ज्यामरुककोट, बढ्यो पर्यटक आवागमन

सोमबार, माघ १५ २०८०
झोलुंगे पुलले जोड्यो पञ्चकोट र ज्यामरुककोट, बढ्यो पर्यटक आवागमन

बागलुङको धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा आएका पर्यटक म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोटमा आउने गरेका छन् भने ज्यामरुककोटमा आएका पर्यटक पञ्चकोटसम्म पुग्ने गरेका छन्।

गलेश्वर- वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट। बीचमा पर्छ ठूलो (ढोडेनी) खोला। खोलाको वल्लोपट्टी बेनी नगरपालिका-२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका-५ मा पर्ने चनौटे गाउँ। चनौटेबाट तेरपायँ बाटो उक्लेपछि पुग्न सकिन्छ बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट।

म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा झोलुंगे पुल बनेपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट र प्रसिद्ध ऐतिहासिकस्थल ज्यामरुककोटको दुरी नजिकिएको छ।

पुल नहुँदा ज्यामरुककोटको भकुण्डेचौर, सानालेख हुँदै बागलुङको पञ्चासे र सीम हुँदै पञ्चकोट पुग्नुपर्ने बाध्यता अन्त्य भएकाले यी दुवै धार्मिक र ऐतिहासिकस्थल अब नजिकिएका ज्यामरुककोटका टीकाबहादुर कार्कीले बताए।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना)मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुंगे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो। एक करोड ३९ लाख रूपैयाँको लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको भकुण्डेचौरका खिमबहादुर कार्कीले बताए।

बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन्।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ। दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन्। त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुंगे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापर खेतमा बस्दै आएका प्रवेश कुँवरले बताए। पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए।

पुल निर्माण भएपछि स्थानीयलाई त फाइदा भएको छ नै धार्मिक क्षेत्र पञ्चकोट र ऐतिहासिकस्थल ज्यामरुककोटमा पर्यटक आवागमन बढेको छ। बागलुङको धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा आएका पर्यटक म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोटमा आउने गरेका छन् भने ज्यामरुककोटमा आएका पर्यटक पञ्चकोटसम्म पुग्ने गरेका छन्। रासस


प्रकाशित : सोमबार, माघ १५ २०८०१४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend