शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मूर्तिकलामा जमेका गोविन्द भन्छन् - पेसाप्रति सन्तुष्ट छु, युवापुस्तालाई पनि जोड्नुपर्छ

images
सोमबार, माघ १५ २०८०
images
मूर्तिकलामा जमेका गोविन्द भन्छन् - पेसाप्रति सन्तुष्ट छु, युवापुस्तालाई पनि जोड्नुपर्छ

हिजोआज गोविन्दलाई ढुंगा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन्। पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुंगाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन्।

images
images

मध्यविन्दु- इँटाको सानो तीन कोठे घर। घर वरिपरि ढुंगाको चाङ। खस्रा ढुंगालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-१३ का गोविन्द बोटे ढुंगामा आफ्नो कला भर्न लागि परेका छन्।

images
images
images

सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्। बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुंगाका मूर्ति बनाउन व्यस्त छन्। ४३ वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुंगा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ।

images
images

'तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुंगालाई सुन्दर आकृति बनाउँदा निकै खुशी लाग्छ', बोटेले भने, 'यो कलाले आफू मरेर गए पनि  युगैँयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु।'

images
images

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ। बोटे समुदायका उनलाई  बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ। बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन। सानैदेखि चित्र कोर्न मन पराउने उनी ढुंगाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ।

'अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु', बोटेले भने, '१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु।' ढुंगामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ। एकाग्र भएर छिनो र ढुंगासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनले बताए।

'सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको ४५ हजार रूपैयाँसम्म लिने गरेको छु', उनले भने।

हिजोआज गोविन्दलाई ढुंगा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन्। उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ। कक्षा १० सम्म पढेका कमलले केही समय भारत गएर काम पनि गरिसकेका छन्। त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए। अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन्। पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुंगाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन्।

'सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु', उनले भने, 'ढुंगामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ।'

बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन्। यतिका वर्षबाट ढुंगाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायले सहयोग नगरेको उनीहरुले गुनासो गरेका छन्।

'स्थानीय सरकारले ढुंगा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो', गोविन्दले भने, 'यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो।'

सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनको विश्वास छ। अहिलेका युवा यो ढुंगाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ।

'यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ', उनले भने, 'ढुंगाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ।' रासस


प्रकाशित : सोमबार, माघ १५ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend