शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्लाको कर घटाउने प्रस्तावमा छिट्टै निर्णय हुन्छ : नीति आयोग

आइतबार, मंसिर १९ २०७८
टेस्लाको कर घटाउने प्रस्तावमा छिट्टै निर्णय हुन्छ : नीति आयोग

टेस्लाले भारत सरकारलाई तयारी कारमा ४० प्रतिशतमात्र कर लगाउन प्रस्ताव गरेको छ।  

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले भारतमा कार आयात गर्दा लाग्ने कर घटाउन माग गर्दै आएको छ। टेस्लाले गरेको उक्त प्रस्तावबारे भारतको नीति आयोगले अबको केही समयभित्रै निर्णय गर्ने जनाएको छ। 

कार आयात गर्दा लाग्ने कर महगो भएको भन्दै भारतमा टेस्लाले हालसम्म कार सार्वजनिक गरेको छैन। अघिल्लो वर्ष टेस्लाले भारतमा कम्पनी दर्ता गराएको भएपनि कर बढी भएको भन्दै कार बिक्री नगरेको हो। 

आइतबार नीति आयोगका अध्यक्ष अमिताभ कान्टले टेस्लाले गरेको कर घटाउने प्रस्ताव बारे आयोगले छिट्टै निर्णय लिने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। ‘टेस्लाले गरेको कर कटौतीको प्रस्ताव बारे सरकारले सम्बन्धित मन्त्रमलयसँग समन्वय गरेर छलफल गरेको छ,’ कान्टले भने, ‘यसबारे अन्तिम निर्णय वित्त मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाले गर्नेछ।’ 

भारत सरकारले कर घटाएर कार आयो गर्ने भन्दा टेस्लाले भारतमै कार उत्पादन गरोस् भन्ने चाहना रहेको अधिकारीहरुको भनाइ छ। भारतको ठूला उद्योग मन्त्रालय भने टेस्लाका कार आयातमा कर घटाउने भन्दा भारतमै एसेम्बल उद्योग स्थापना गराउनेतर्फ सहजीकरण गर्नुपर्ने पक्षमा देखिएको छ। 

भारत सरकारले टेस्लालाई सर्तसहित आयात कर घटाउने सम्भावना रहेको विश्लेषण हुन थालेको छ। ३ वर्षका लागि आयातित कारमा कर छुट दिने तर त्यो अवधिमा टेस्लाले भारतमा कार उत्पादन गर्न के गर्छ भन्ने प्रस्ताव माग गर्ने सर्त राख्ने अनुमान गरिएको छ। 

हाल भारतमा ४० हजार डलर भन्दा महँगा कारमा १०० प्रतिशत र त्यो भन्दा कम मूल्यका तयारी कार आयातमा ६० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ। टेस्लाले भारत सरकारलाई तयारी कारमा ४० प्रतिशतमात्र कर लगाउन प्रस्ताव गरेको छ।  


प्रकाशित : आइतबार, मंसिर १९ २०७८०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend