आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

काम रोकिएको १० महिनापछि पेटी ठेकेदारमार्फत पुन: थालियो बोंगाखोलाको पुल निर्माण

images
शनिबार, माघ १३ २०८०
images
काम रोकिएको १० महिनापछि पेटी ठेकेदारमार्फत पुन: थालियो बोंगाखोलाको पुल निर्माण

गत चैतसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

images
images

बागलुङ- एक वर्षदेखि निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि अलपत्र बनेको बोंगाखोला पुलको काम थालिएको छ। 

images
images
images

बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमा निर्माणाधीन मोटरेबल पुलको काम गत चैतदेखि रोकिएको थियो। पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनले अहिले पेटी ठेकेदारलाई काम गर्ने जिम्मा दिएपछि निर्माण सुरु भएको हो। निर्माण कम्पनी समय-समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र पर्दै आएको थियो।

images
images

विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु भएको थियो। विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ। दुई वर्षमा निर्माण गरिसक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गत वर्ष चैत ३० गते एक वर्षका लागि म्याद थप गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर अमर अधिकारीले बताए।

images
images

निर्माण कम्पनीको म्याद अब पाँच महिनामात्रै बाँकी रहेको उनले जानकारी दिए। पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार एक सय १३ रूपैयाँ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ रूपैयाँमा जिम्मा लिएको इञ्जिनियर अधिकारी बताउँछन्। पाँच महिनाको अवधिमा मजदुर लगाएर धमाधम काम गरेमात्रै सकिने सम्भावना रहेको उनको भनाइ छ।

अहिले खोलाको दुईपट्टि पिल्लर मात्रै ठडिएका छन्। त्यसबाहेक पुलको कुनै पनि काम हुन सकेको छैन। ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्। हरेक वर्ष बर्सातका समयमा बोंगाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन्। यस वर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधन कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन्। अहिले पुल निर्माणका लागि पेटी ठेकेदार बलराम पौडेलले जिम्मा लिएका छन्। उनले आगामी वैशाखमै काम सक्ने गरी कामदार लगाएको बताए।

पौडेलले भने, 'मैले यो ठाउँमा धेरैपटक काम गरेको छु, यो पहिले नै सकिनुपर्ने काम रहेछ, यो पुलको जिम्मा पाएको निर्माण कम्पनीका प्रमुखले म अहिले समस्यामा छु, तपाईँले यो काम गर्नुपर्‍यो भनेपछि मैले जिम्मा लिएको हुँ, अब धमाधम काम हुन्छ, सकेसम्म वैशाख नभए पनि जेठसम्म यसको सबै काम सकिएर पुलमा गाडी गुड्छ।'

बोंगाखोलामा पुल नबन्दा तमानखोलाका वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन्। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयसम्म निर्माण कम्पनीले काम नगर्दा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए। अहिले पेटी ठेकेदार आएर काम सुरु गर्न थालेपछि पुल बन्ने आशा पलाएको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, माघ १३ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend