बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पर्वतको एउटै गाउँबाट ११ करोडको सुन्तला बिक्री

बिहीबार , माघ ११ २०८०
पर्वतको एउटै गाउँबाट ११ करोडको सुन्तला बिक्री

व्यावसायिकरूपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेसा बनाएका छन्।

पर्वत- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौंको कालीमाटी बजारमा पठाइएको छ। 

अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो। यस वर्ष सुन्तला खरिद गर्न काठमाडौंको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन्।

कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान जगतबहादुर खत्रीले बताए। बोटमा फल लामो समयसम्म राख्दा अर्को वर्ष कम उत्पादन हुने भएकाले माघभित्रै फल टिपेर लैजान व्यवसायीलाई किसानले आग्रह गरेका छन्।

गत वर्ष १५ करोड रूपैयाँ भित्र्याएका यहाँका किसानले यस वर्ष भने उत्पादन घटेको बताएका छन्। यस वर्ष १० देखि ११ करोड रूपैयाँ आम्दानी हुने अनुमान गरिएको अगुवा किसान खत्रीले बताए। गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने बाँसखर्कमा ढिलोगरी सुन्तला पाक्ने भएकाले मूल्यसमेत महँगोमा बिक्री हुने गर्दछ। यहाँका किसानले गत वर्ष बोटबाटै प्रतिकेजी एक सय ७० रूपैयाँमा बिक्री गरेका थिए भने यस वर्ष एक सय ८० रूपैयाँमा बिक्री गर्ने तयारी गरेका छन्।

गत वर्ष सुन्तलाको फल लाग्ने बेला फागुन १५ गते परेको असिनापानीका कारण उत्पादन घटेको किसान खत्रीले बताए। खत्रीले गत वर्ष सुन्तला बिक्रीबाट ३२ लाख रूपैयाँ आम्दानी गरेका थिए। उनका तीन सय बोटमा सुन्तला फल्ने गर्दछन्। त्यसैगरी भक्तबहादुर पाइजाले २२ लाख र अर्का किसान हेमकुमार अर्मजाले २७ लाखको सुन्तला बिक्री गरेका थिए।

व्यावसायिकरूपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेसा बनाएका छन्। स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्थामा आबद्ध किसानले मकै, कोदोलगायतका बालीनाली लगाउन छाडेर सुन्तलाखेती विस्तार गरेका छन्।

सहकारीका अध्यक्षसमेत रहेका किसान खत्रीले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको सुनाए। बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन। किसानले धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन्।

'यहाँका किसानले न्यूनतम पाँच लाख रूपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्', अध्यक्ष खत्रीले भने, सबैभन्दा बढी आम्दानी आफूले गर्ने गरेको बताए। सुन्तलाकै कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन्। उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत पाँच वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ। तर बोटमै सन्तोषजनक मूल्य पाएपछि शीतभण्डारमा भण्डारण गर्न किसानले चासो देखाउँदैनन्। केही किसानले भेन ग्रेडिङ गरेर बाँकी रहेका सुन्तला शीतभण्डारमा राखेर बेसिजनमा बिक्री गर्ने गरेको स्थानीय कल्पना खत्रीले बताइन्।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ। यहाँका दुई सयभन्दा बढी परिवार सुन्तलाखेतीमा आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए। बाँसखर्कमा पनि गत वर्ष अत्यधिक फलेका कारण यस वर्ष केही कम भएको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए। रासस


प्रकाशित : बिहीबार , माघ ११ २०८०१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend