काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युरोड क्षेत्रका सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका सडक खुला भएका छन्। व्यापारीहरूले पार्किङ गर्न दिनुपर्ने भन्दै विरोध गरिरहँदा पैदलयात्रुदेखि स्थानीयले भने खुला सडक भएको भन्दै खुसी व्यक्त गरेका छन्।
गएको मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा महानगरले सवारी पार्किङमा रोक लगाएको हो। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने बनाएको हो।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको हो। यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिएका छन्।
हेर्नुहोस् भिडियो-