शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मल्लरानीमा एक करोड लागतमा ‘जिपलाइन’ निर्माण, पर्यटक बढ्ने अपेक्षा

आइतबार, माघ ७ २०८०
मल्लरानीमा एक करोड लागतमा ‘जिपलाइन’ निर्माण, पर्यटक बढ्ने अपेक्षा

पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो।

स्वर्गद्वारी- प्युठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ। पर्यटकीयस्थलको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो।

जिल्लाको सदरमुकाम खलंगा संघीयतापछि सुस्ताउँदै गइरहेको थियो। खलंगासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले एक करोड रूपैयाँको लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए।

मल्लरानी गाउँपालिका-४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ। वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छ भने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका भारतीले बताए।

‘जिपलाइन’को चलान बिन्दुबाट अवतरण बिन्दुसम्मको दुरी छ सय ५० मिटरको छ। भारतीले भने, 'जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ।' जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ। जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ। 

पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो। प्युठानको सदरमुकाम खलंगाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छ्रेलगायतका थुप्रै हिमाल देख्न सकिन्छ। 

यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलंगा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ।

मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो। त्यसले भने निरन्तरता पाउन सकेन। नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन्। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend