शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एक वर्षमा ३ हजार ४ सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरे

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
एक वर्षमा ३ हजार ४ सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरे

मुस्ताङको कागबेनीदेखि उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई अध्यागमन विभागले प्रवेश शुल्कबापत पाँच सय अमेरिकी डलर तोकेको छ।

म्याग्दी- अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ। सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार रुपैयाँ आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। 

एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा ३ हजार ४ सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेको जानकारी दिए।

'सन् २०२१ मा ६ सय दुई र २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका थिए'  उनले भने 'सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटकको आगमन बढेको हो।'

गत जनवरीमा सात विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेब्रुअरीमा २३, मार्चमा एक सय ६२, अप्रिलमा चार सय २५, मेमा सात सय १२, जुनमा एक सय ४९, जुलाईमा एक सय आठ, अगस्टमा दुई सय ७८, सेप्टेम्बरमा चार सय सात, अक्टोबरमा आठ सय ३०, नोभेम्बरमा दुई सय ८० र डिसेम्बरमा २३ विदेशी पर्यटक पुगेका थिए। 

मुस्ताङको कागबेनीदेखि उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई अध्यागमन विभागले प्रवेश शुल्कबापत पाँच सय अमेरिकी डलर तोकेको छ। 

सो शुल्क तिरेर उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले दश दिनको प्रवेश अनुमति पाउँछन्। दश दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई राजश्व बुझाउनुपर्ने हुन्। उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका-२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन्। 

सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो। सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए।

गत भदौ र कात्तिकमा मुस्ताङ आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट मुक्त गराउन माग गरेका थिए। 

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भौगोलिक बनावट र माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन्। रासस


प्रकाशित : बुधबार, माघ ३ २०८०१६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend