शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

आइतबार, पुस २९ २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सक्नेछन्। खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ।

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेद्‌वारहरुले गर्न पाउने खर्चको शीर्षक र सीमा तोकेको छ।

उम्मेद्‌वारहरुले तीन लाख ५० हजारसम्म खर्च गर्न सक्नेगरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ। उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सक्नेछन्। यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ।

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ

उक्त निर्वाचनमा कुल दुई हजार ४७ मतदाता कायम गरिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन्। विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ

नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो।


प्रकाशित : आइतबार, पुस २९ २०८०१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend