शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बजारमा गुणस्तरहीन खानेतेल बिक्रीको आशंकामा धारालगायतका तेलमाथि अनुसन्धान हुँदै

आइतबार, पुस २९ २०८०
बजारमा गुणस्तरहीन खानेतेल बिक्रीको आशंकामा धारालगायतका तेलमाथि अनुसन्धान हुँदै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा केही तेलको गुणस्तरमा समस्या पाएपछि थप परीक्षण गर्ने भएको छ।

काठमाडौं- उपभोक्ताको उजुरीका साथै बजार अनुगमनपछि सरकारले खाने तेलको थप परीक्षण गर्ने भएको छ। विशेष बजार अनुगमनका क्रममा बजारमा उपलब्ध खानेतेल गुणस्तरहीन रहेको भेटिएपछि विभागले थप परीक्षण गर्न लागेको छ।  

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा केही तेलको गुणस्तरमा समस्या पाएपछि थप परीक्षण गर्ने भएको हो।

उपभोक्ताले बजारमा बिक्री भएको तेल गुणस्तरहीन रहेको भन्दै विभागमा उजुरी तथा गुनासो गरेका थिए। विभागले बजारमा उपलब्ध सबै ब्रान्डका तोरी, सुर्यमूखी र भटमासको तेलको नमुना लिएर परीक्षण गर्न लागेको हो।

विभाग स्रोतका अनुसार पहिलो चरणमा बजार सबैभन्दा बढी बिक्री भइरहेको धारा तोरीको तेललगायतको नमुना संकनल भइरहेको छ। विभागमा उपभोक्ताले धारा तोरी तेल एक लिटरको प्याक भनेर पठाएपनि उक्त परिमाण नभएको तथा तेलको गुणस्तर कमजोर रहेको भन्दै उजुरी परेको हो।

सबैभन्दा बढी उजुरी धारा तोरीको तेलमा नै आएको छ। धारा तोरीको तेल देशभरी राम्रो बजार लिएको तेल हो। धारा तोरीको तेल उत्पादन गर्ने  कम्पनी सौरभ तेल तथा एग्रो इन्डस्ट्रिज हो। कम्पनीले २०२१ मा एक अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। 

२०२० मा कम्पनीले एक अर्ब ३० करोड ४० लाखको कारोबार गरेको थियो। यो २०१९ को तुलनामा ३५ प्रतिशत बढी थियो। २०१९ मा कम्पनीले ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।  यो तेल केएल दुगड समूहको लगानी रहेको  छ। 

'धारा तोरीको तेल तताउँदा कालो धुलोको कण आएको छ। के यो गुणस्तर मापदण्डभित्रै हुने हो? तोरीको तेलमा कुनै परिकार बनाउँदा पनि फरक खालको गन्ध आउँछ,' उजुरीकर्ताले गरेको उजुरी बताउँदै स्रोतले भन्यो।

विभागमा बारम्बार एकै प्रकृतिको उजुरी आएको र चाडपर्वमा गरिएको विशेष अनुगमनमा समेत खाने तेलको गुणस्तरमा प्रश्न उठेपछि विभागले परिमाण तथा शुद्धता परीक्षणका लागि ल्याब टेस्ट गर्न लागेको स्रोतले जनाएको छ। विभागले पहिलो चरणमा बजारमा उपलब्ध तोरी तेलको नमुना संकलन गरेको र केही दिनमै परीक्षणका लागि प्रयोगशाला पठाउने जनाएको छ।

विभागले बजारमा सबैभन्दा बढी बिक्री भइरहेको धारा, त्रिवेणी, फ्यामिली लगायतका तोरीको तेलको नमुना संकलन गरेको छ।  विभागको आफ्नो ल्याब नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याबबाट गुणस्तरको परीक्षण गर्न लागेको हो।  शुद्ध तोरीको तेल भनेपनि तोरीजन्य अन्य वस्तुको मिसावट भएको विभागले शंका गरेको छ।  

विभागले तोरीको तेलको नमुना संकलन गरेर ल्याब परीक्षण गर्न लागेको विभागमा महानिर्देशक तिर्थराज चिलुवाल स्वीकार गर्छन्।

उनले विभागले अहिले नुनमा आयोडिनको मात्रा बढी भएको उजुरीका आधारमा ल्याबमा परीक्षणका लागि पठाएको समेत बताए। साथै विभागले शिशु आहारको समेत नमुना संकलन गरेर ल्याब परीक्षणमा पठाउने तयारी गरेको छ।

विभागले चाडपर्वको समयमा विशेष अनुगमनबाट एक दर्जन खाद्यवस्तुको गुणस्तरमा लापरबाही भएको भन्दै पहिचान गरेको र सोही आधारमा ल्याब परीक्षण सुरु गरेको जनाएको छ।

गुणस्तरहीन तथा मानवस्वास्थ्यमा खेलबाड हुनेगरी खाद्य वस्तु ब्रिक्री गर्ने, उत्पादक कम्पनीले मानव स्वास्थ्यमा खेलवाड गर्ने गरी कुनै पनि वस्तुको उत्पादन तथा बिक्री वितरण गर्न नपाउने विभागको तर्क छ। उपभोग्य मिति सकिएको तेलसमेत बिक्री भएको विभागले फेला पारेको छ। सहरी क्षेत्रमा बढी निगरानी हुने भएपछि उत्पादन कम्पनीले म्याद सकिएको तेल दुर्गम गाउँमा पठाउने गरेको भन्दै विभागले निगरानी बढाएको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend