शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यापार ऋणात्मक हुँदा पनि पहिलो त्रैमासमा सुखद आर्थिक वृद्धिदर

शनिबार, पुस २८ २०८०
व्यापार ऋणात्मक हुँदा पनि पहिलो त्रैमासमा सुखद आर्थिक वृद्धिदर

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुधार भएको तथा ऋण असुलीमा पनि केही सुधार भएकाले वृद्धिदरमा प्रभाव परेको देखिन्छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ उत्पादन ३.२ प्रतिशतले बढेको कार्यालयको अनुमान छ। बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र शिथिल नै भएको भनिएको समयमा पहिलो तीन महिनाको गार्हस्थ उत्पादन भने सुखद देखिएको छ। 

गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अधिकांश क्षेत्रको वृद्धिदर सकारात्मक देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा केही क्षेत्र ऋणात्मक भएका थिए। गत वर्षका तीन त्रैमासमा निरन्तर ऋणात्मक भएका क्षेत्र यो वर्षको पहिलो त्रैमासमा भने सकारात्मक भएका छन्। 

अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा भएको थोक तथा खुद्रा व्यापारको वृद्धिदर ऋणात्मक भएको छ। गत वर्षको तुलनामा पनि तीव्र दरले ऋणात्मक भएको छ। गत वर्षको त्रैमासमा ०.१ प्रतिशतले ऋणात्मक भएको यो क्षेत्र यो वर्षको त्रैमासमा अझ १.२ प्रतिशतले ऋणात्मक भएको छ।

थोक तथा खुद्रा क्षेत्रको योगदान अर्थतन्त्रमा १५.३९ प्रतिशत रहेको छ। कृषिपछिको दोस्रो ठूलो योगादन यही क्षेत्रको रहेको छ। गत वर्षको तुलनामा पनि ऋणात्मक हुँदा पनि औसत वृद्धिदर भने गत वर्षकै तहमा पुगेको छ। 

Screenshot 2024-01-12 at 17.24.54.png

नेपाली अर्थतन्त्रमा सेवा क्षेत्र पनि व्यापारमै आधारित धेरै रहेको छ। थोक तथा खुद्रा व्यापारकै हिस्सा सेवा क्षेत्रमा धेरै रहेको छ। जीडीपीमै यसको हिस्सा १५.३९ प्रतिशत रहेको छ। आयात घट्नेवित्तिकै यो क्षेत्र प्रभावित हुने भएको छ।

आयात राम्रोसँग नबढ्दासम्म सेवा क्षेत्रमा राम्रो वृद्धि नहुने र यदि आयात बढाउने हो भने भुक्तानी सन्तुलन बिग्रिने अवस्था अर्थतन्त्रमा रहेको छ। आयात ऋणात्मक र आन्तरिक मागमा पनि सुधार नभएकाले व्यापार क्षेत्र ऋणात्मक भएको अधिकारीहरूले बताएका छन्। 

त्यस्तै २४ प्रतिशत योगादन भएको कृषि क्षेत्रको वृद्धिदर पनि गत वर्षको तुलनामा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २.९ प्रतिशतले बढेको कृषि क्षेत्र यो वर्ष भने जम्मा १.४ प्रतिशतले बढेको छ। 

यसका बाबजुद पनि औसत वृद्धिदर भने गत वर्षको बराबर कसरी भयो?  

यसमा सबैभन्दा धेरै योगदान बैंक तथा वित्तीय संस्थाहरूको व्यापार बढ्नुमा रहेको छ। वित्तीय मध्यस्थ सेवाको वृद्धिदर गत वर्षको तुलनामा उच्च वृद्धि हुँदा समग्र वृद्धिमा साथ दिएको छ। 

गत वर्ष यो क्षेत्रको वृद्धिदर ९.९ प्रतिशत थियो। कुल गार्हस्थ उत्पादनमा ७.३७ प्रतिशत हिस्सा भएको यो क्षेत्रको वृद्धिदर यो भने १३.२ प्रतिशत पुगेको छ। अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भएको वित्तीय मध्यस्थतता सेवाको विस्तारले साथ दिएको छ। 

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुधार भएको तथा ऋण असुलीमा पनि केही सुधार भएकाले वृद्धिदरमा प्रभाव परेको देखिन्छ। 

Tamankhola Baraha Tal.jpg

त्यस्तै गत वर्षको तुलनामा निर्माणले केही गति लिँदा वृद्धिदर सुधार भएको छ। जीडीपीमा ५.५ प्रतिशत हिस्सा भएको निर्माण क्षेत्रको वृद्धिदर यो त्रैमासमा ११.४ प्रतिशत भएको छ। जुन गत वर्ष ९.६ प्रतिशतले नै ऋणात्मक भएको थियो। 

कृषि क्षेत्रमा सुस्त भएको वृद्धि र व्यापारमा भएको नोक्सानीलाई पूरा गर्नका लागि उल्लेख्य योगदान दिने क्षेत्रबाट पूर्ति भएको र त्यसबाहेकका अन्य क्षेत्रको औसत वृद्धिदर कायमै हुँदा समग्रमा ३.२ प्रतिशतको वृद्धिदर देखिएको तथ्यांक कार्यालयले जानकारी दिएको छ। 

गत वर्षको अन्तिम त्रैमासको तुलनामा भने यो वर्षको पहिलो त्रैमासमा जीडीपी ऋणात्मक भएको छ। 


प्रकाशित : शनिबार, पुस २८ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend