शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडाको आगामी कार्यसमितिका लागि थापा पक्षको प्यानल घोषणा

बिहीबार , मंसिर १६ २०७८
नाडाको आगामी कार्यसमितिका लागि थापा पक्षको प्यानल घोषणा

नाडालाई  सवल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको बताउँदै थापाले आफ्नो प्यानल घोषणा गरेका हुन्। 

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारण सभाका लागि ध्रुवबहादुर थापा समूहले प्यानल घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम गरि थापा समूहले प्यानल घोषणा गरेको हो। 

बुधबार नै करण चौधरी समूहले समेत नाडाको नयाँ नेतृत्वका लागि प्यानल घोषणा गरेको थियो। नाडामा दुबै पक्षले सर्वसहमतिका लागि प्रयास जारी रहेको बताए पनि दुबै पक्षले पूरै प्यानल घोषणा गरेका छन्।  

नाडाको ४५औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २२ र २३ गते हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै चुनावी रस्साकस्सी समेत बढेको छ। 

नाडालाई  सवल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको बताउँदै थापाले आफ्नो प्यानल घोषणा गरेका हुन्। 

‘हामीले सबै प्रदेशका साथीहरूसँग अन्तरक्रिया गरेका छौं। छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न आवश्यक रहेकाले हामीले नाडाको आसन्न निर्वाचनबाट नयाँ नेतृत्वमा जानका लागि प्यानल घोषणा गरेका हौं,’ थापाले भने। 

नाडाको नेतृत्वमा रहेर आफ्नो टिमले प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्नेलगायतका काम गर्ने उमेद्वारी घोषणाका क्रममा थापाले बताए। 

थापाले नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र पेटेन्ट दर्ता, डाटा हव निर्माण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्नेलगायतका प्रतिबद्धता समेत जनाएका छन्। 

थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन्। त्यसैगरी उनको प्यानलमा अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल,  नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान र यमुना श्रेष्ठ छन्। 

नाडालाई प्रविधिमैत्री बनाउने भन्दै थापा प्यानलबाट कार्यसमिति सदस्य उमेद्वार तथा वर्तमान कार्यसमिति सदस्य कपिल शिवाकोटीले आफ्ना समूहले निर्वाचन जिते अर्को चुनावमा सदस्यहरुले घरघरबाटै मतदान गर्ने व्यवस्था मिलाइने बताए। 


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend