मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मेलम्चीको पानी पुन: काठमाडौं ल्याइँदै, चार दिनपछि दैनिक १७ करोड लिटर पानी आउने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
images
मेलम्चीको पानी पुन: काठमाडौं ल्याइँदै, चार दिनपछि दैनिक १७ करोड लिटर पानी आउने

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको हो।

images
images

काठमाडौं- बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौंमा पथान्तरण गरिएको छ। 

images
images
images

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

images
images

'निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ' उनले भने।

images
images

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ। 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौंका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए।

उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो। खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गरेका थिए। मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गरेका थिए।

बाढीका कारण रोकिएको पानी काठमाडौं ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेको मन्त्री यादवका स्वकीय सचिव टंक धमलाले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend