काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ।
प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो। उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणको दाबी छ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ। हिमाल स्टिलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यसबापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको जनाएको छ।
डेडिकेटेड र ट्रंकलाइनको विवाद मिलाउन छाडेर उद्योगको लाइन काटेको भन्दै भैरहवा क्षेत्रका उद्योगीहरूले ४० उद्योगमा आफैले ताला लगाएका छन्।
लाइन जोड्न माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका उद्योगी तथा मजदूरहरूले ४० उद्योगमा ताला लगाएका हुन्।