मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

संघीय संसदका १२ भवन निर्माण द्रुत गतिमा, ७७ प्रतिशत काम सकियो

images
सोमबार, पुस २३ २०८०
images
संघीय संसदका १२ भवन निर्माण द्रुत गतिमा, ७७ प्रतिशत काम सकियो

भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ। आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ।

images
images

काठमाडौं- संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकैसाथ निर्माण अघि बढिरहेका छन्।

images
images
images

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ। सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराइन्।

images
images

निर्माणाधीन संघीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिइयो। अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर संघीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताइन्।

images
images

'भवन निर्माणलाई अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पुर्‍याइएको छ', मन्त्री गुरुङले भनिन्, 'छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौँ।'

भ्याटबाहेक ६ अर्ब ९२ करोड रूपैयाँको लागतमा अघि बढेको उक्त परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ। उक्त भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ। लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न द्रुत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिइन्।

समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनपर्ने भवन कोभिड-१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदै आएको प्रतिक्रिया दिए। कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो।

खतिवडाले भने, 'भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ। मन्त्रिसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौँ। आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ।'

दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उनले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गरे।

प्रतिनिधिभाको भुइँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरु कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ। आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नु पर्नेछ।

अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको उक्त भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend