मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बागलुङ महोत्सवमा १० करोडको कारोबार

images
सोमबार, पुस २३ २०८०
images
बागलुङ महोत्सवमा १० करोडको कारोबार

महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो।

images
images

गलकोट- बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोड रूपैयाँको आर्थिक कारोबार भएको छ। यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ।

images
images
images

संघको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। महोत्सवमा एक सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो।

images
images

महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो। महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो।

images
images

'महोत्सवले निराशातर्फ गएको बागलुङको व्यापारलाई माथि उठायो, धेरै व्यापारिक कक्ष खाली नै हुनेगरी व्यापार भयो, बागलुङ बजार आसपासका क्षेत्रका नागरिकसमेत किनमेलका लागि आउनुभयो', अध्यक्ष कँडेलले भने, 'महोत्सवको आकर्षणका रुपमा फोटो प्रदर्शनी र स्थानीय उत्पादन प्रभावकारी रहे। महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु, महोत्सवले बागलुङको पर्यटन र व्यापारमा एउटा इँटा थपेको छ।'

कोरोनापछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी भएको संघका महासचिव ऋषिराम गौतमले जानकारी दिए। 'मुख्य मञ्च, व्यापारिक कक्ष, रमाइलो मेलालगायतले धेरैलाई आकर्षण गरेको थियो, दुलहीजस्तै सिंगारिएको बागलुङ बजारले व्यापार व्यवसायलाई फस्टाउन मद्दत गरेको थियो', गौतमले भने, 'महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको छ।'

महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ।

संघको सामाजिक उत्तदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend