शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पारिश्रमिक वृद्धि गर्न रिभरगाइड मजदूरको माग

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १८ २०८०
पारिश्रमिक वृद्धि गर्न रिभरगाइड मजदूरको माग

जलयात्रा मजदूरले हाल दैनिक ज्याला दुई हजार पाँच सय रुपैयाँ पाउँदै आएका  छन्। धेरै दिनको यात्रामा जान परेमा दैनिक ज्याला चार हजार रुपैयाँ हुनुपर्ने माग छ।

चितवन- जलयात्रामा आश्रित मजदूर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्। उनीहरूले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन्।

चितवनको इच्छाकामना-३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक तीन हजार हुनुपर्ने निर्णयसमेत गरेको छ। 

हर्गानका उपाध्यक्ष डोलबहादुर  गुरुङका अनुसार जलयात्रा मजदूरले हाल दैनिक ज्याला दुई हजार पाँच सय रुपैयाँ पाउँदै आएका  छन्। साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला चार हजार रुपैयाँ हुनुपर्ने माग गर्ने निर्णय गरेको उनले बताए। 

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरूको भनाइ छ। लामो समयदेखि रिभरगाइडको काम गर्दै आएका  चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरूले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको बताए।  

उनले भने, 'पर्यटकलाई  बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (र्‍याफ्टिङ) गराएर  होटलसम्म पुर्‍याउनुपर्ने हुन्छ, सधैँ काम हुँदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ।'

त्रिशूली नदीमा निर्माणाधीन  सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले  माग गरेका छन्। सो स्थानमा बन्ने हाइड्रो पावरले  त्रिशूली नदीको जलयात्रामा आश्रित  स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ। 

साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उनको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी  र त्यसमा आश्रित मजदूरको रोजीरोटी खोसिने हर्गानको ठहर छ।

त्रिशूली नदी बचाउनका लागि  सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत संघर्षका कार्यक्रमहरू गर्ने जनाएको छ। यसअघि पनि  जलयात्रा मजदूर र व्यवसायीले विरोधस्वरुप राजमार्गमा पदयात्रा गरेका थिए। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend