शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मन्त्रीको हेरफेर एकसाताभित्रै गर्ने प्रधानमन्त्री दाहालको संकेत, गगन थापालाई भित्र्याउने प्रयास

बुधबार, पुस ११ २०८०
मन्त्रीको हेरफेर एकसाताभित्रै गर्ने प्रधानमन्त्री दाहालको संकेत, गगन थापालाई भित्र्याउने प्रयास

यता अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तत्काल फेरिहाल्ने मुडमा सभापति देउवा देखिँदैनन् तर पनि प्रधानमन्त्री दाहालले थापालाई मन्त्री बनाउन जोडबल भने गरिरहेका छन्।

काठमाडौं- के मन्त्रीहरू फेरिँदैछन्? एउटा सरकार गठन भएदेखि अर्को सरकार गठन नहुँदासम्म यो प्रश्न र हल्ला निकै चल्ने गर्छ। वर्तमान सरकारका सन्दर्भमा पनि यो प्रश्न पछिल्ला केही महिनादेखि चल्दै आएको छ। 

केही समयअघिसम्म मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले अस्वीकार गर्दै आएका थिए। निकै लामो समयदेखि मन्त्रीहरू फेरिने हल्लाका बीचमा सोमबार दाहाल आफैले मन्त्रिपरिषद् हेरफेर गर्ने संकेत गरेका छन्। 

प्रधानमन्त्री दाहालले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै ‘पर्फरमेन्स’ गर्न नसक्नेहरूलाई मन्त्री पद छाड्न आग्रह नै गरे।

'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ', दाहालले भने।

कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि अब ठाउँ ओगटिरहन नहुनेसमेत प्रधानमन्त्री दाहालले बताए। ‘यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैसँग गरेको वाचा पनि हो। देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,’ दाहालले भने। 

प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई तर्साउनुका केही कारण भने लुकेका छन्। दाहालले पटक पटक यो आफ्ना लागि अन्तिम अवसर भएको सार्वजनिक रुपमै बताउँदै आएका छन् तर सरकारले एकवर्षभित्र सोचेअनुसार काम गर्न सकेको छैन।

सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले घुमाउरो शैलीमा सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। यो संकेत उनले केही मन्त्रीहरू फेर्न लागेको सन्दर्भमा गरेका हुन्। खासगरी सत्ता साझेदार नेपाली कांग्रेसभित्रको कलह रोक्न उनले मन्त्रिपरिषदमा मन्त्रीहरू हेरफेर गर्ने 'कार्ड' फालेका छन्।

यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कांग्रेसभित्र बलियो बन्दै गएको शेखर कोइराला समूह फुटाउने रणनीतिमा छन्। गगन थापासहितको समूह विगतदेखि नै माओवादी पार्टीसँगको गठबन्धनको विरोधमा छ।

उता उक्त विरोध मत्थर पार्ने दाउमा दाहाल पनि देखिन्छन्। जुन रणनीति सफल भएमा प्रधानमन्त्री दाहाललाई पनि फाइदा हुने निश्चित छ। यसका लागि अहिले प्रधानमन्त्री दाहालले मन्त्रीहरूको काम पनि सन्तोषजनक नभएकाले कांग्रेसका आशलाग्दा युवा सांसदलाई मन्त्रीका रुपमा भित्र्याउने लविङ गरिरहेका छन्।

समाजमा आशाको सञ्चार गर्नसक्ने आक्रामक व्यक्तित्व भएका नेता माओवादी तथा समाजवादीमा मात्रै होइन कांग्रेसमै पनि देउवा गुटमा समेत नभएको प्रधानमन्त्री दाहालले बुझेका छन्। यस्तोमा देउवाइतर गुटमा रहेका केही नेतालाई मन्त्रीका रुपमा भित्र्याउन पाए सरकारको 'इमेज' पनि राम्रो हुने उनको बुझाइ छ। 

सोही कारण अब हुने मन्त्रीहरूको हेरफेरमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई भित्र्याउने तयारीमा दाहाल छन्। यसमा एक महामन्त्री शर्माले मन्त्री नबन्ने घोषणा गरिसकेका छन्।

यता महामन्त्री थापा भने शक्तिशाली मन्त्रालय पाएमा लिने योजनामा छन्। जसमा खासगरी अर्थमन्त्रीमा उनको रुची छ। प्रधानमन्त्री दाहाल पनि गगन थापालाई अर्थमन्त्री बनाएर आफ्नो आलोचना मत्थर पार्ने र कांग्रेसभित्रको पनि समीकरण परिवर्तन गर्ने पक्षमा पुगेका छन्। भलै महामन्त्री थापाले अहिले नै मुख भने खोलेका छैनन्।

यता अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तत्काल फेरिहाल्ने मुडमा सभापति देउवा देखिँदैनन् तर पनि प्रधानमन्त्री दाहालले थापालाई मन्त्री बनाउन जोडबल भने गरिरहेका छन्।

थापालाई मन्त्री बनाउँदा कुन मन्त्रालय दिनेगरी ल्याउने भन्ने निर्णय भने दाहालले गरिसकेका छैनन्। महामन्त्री थापाले पनि अर्थ मन्त्रालय, परराष्ट्र वा गृहमन्त्री नै पाउँदा आफू सरकारमा जाने संकेतहरू गरिरहेका छन्।

पछिल्लो समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा विकास भएको राजनीतिक समीकरणलाई लक्षित गरेर पनि मन्त्रिपरिषद हेरफेर गर्न खोजिएको छ। पछिल्लो समय शेखर-गगन गुटमा चिसोपना थियो। शेखर र गगनबीचमा सम्बन्ध सुमधुर नभएपछि केही समय पहिले अर्जुननरसिंह केसीले दुई नेतालाई एक ठाउँमा ल्याएका थिए। त्यसपछि गुटको एकीकृत भेला पनि भएको थियो। त्यही भेला तथा छलफलमा थापाले शेखरलाई संसदीय दलको नेता बन्न प्रयास गर्न आग्रह गरेको नेताहरूले बताउँदै आएका छन्। 

बालकृष्ण खाँण जेलबाट छुटेपछि उनले पार्नसक्ने प्रभाव र एकीकृत हुँदै गरेको शेखर-गगन गुटले सत्ता समीकरणलाई नै धक्का दिनसक्ने आँकलन देउवाले मात्रे होइन प्रधानमन्त्री दाहालले पनि गरेका छन्। धक्का दिने बताउँदै आएका दाहाल आफै धक्कामा पर्ने देखेपछि गगन जस्ता समाजमा प्रभाव पार्ने सक्ने नेताहरूलाई मन्त्रीको रुपमा भित्र्याउन पाउँदा एकातिर देउवा विरोधी समीकरण कांग्रेसमा कमजोर हुने र सकारको छबि पनि राम्रो हुने बुझाइमा छन्। 

‘अहिलेको समस्या सरकारप्रतिको विश्वासमा देखिएको छ। कम्तिमा अलि इमेज राम्रो भएका नेता मन्त्री हुँदा आत्मविश्वास बढ्न सक्ने बुझाइ पनि होला प्रधानमन्त्रीको। कांग्रेसबाट थापामात्र होइन माणओवादीबाट पनि वर्षमान पुनजस्ता नेतालाई ठाउँ दिने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्रीनिकट एक नेताले भने। 

तर थापालाई मन्त्री बनाउन दाहालका लागि त्यति सजिलो भने छैन। देउवा गुटको सिफारिसमा थापा मन्त्री बन्न मानिहाल्ने अवस्था छैन भने शेखर गुटले उनलाई सिफारिस गर्न कठिन छ। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend