शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चिनियाँ जहाजबारे सांसदले मागे जवाफ : किन किनियो? किन उडाउन सकिएन? किन बेचिँदैछ?

बिहीबार , पुस ५ २०८०
चिनियाँ जहाजबारे सांसदले मागे जवाफ : किन किनियो? किन उडाउन सकिएन? किन बेचिँदैछ?

'चिनियाँ जहाज किन्दा पनि उडान गर्ने नै भनिएको थियो। किन उडान हुन सकेन? यसको जवाफ खरिदकर्ता र निगमले दिनुपर्ने कि नपर्ने?'

काठमाडौं- २०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका चिनियाँ जहाज बिक्री गर्न लागिएकोप्रति सांसदहरूले आपत्ति जनाएका छन्। किन्ने समयको गलत योजना, उडाउन नसक्ने व्यवस्थापन र अहिले कौडीको भाउमा बेचिन लागिएको भन्दै उनीहरूले प्रश्न गरेका छन्। 

नेपाल वायुसेवा निगमको पाँच वटा (२ वटा एमए-६० र ३ वटा वाई-१२) चिनियाँ जहाज बिक्रीका लागि प्रक्रिया सुरु गरेसँगै सांसदहरूले विरोध गरेका हुन्। उनीहरूले खरिद र बिक्रीको औचित्य स्पष्ट हुनुपर्ने बताएका छन्। खरिद हुँदाको विषय छानबीन नगरी अहिले बिक्री गर्न नहुने उनीहरूको राय छ। 

नेपाल वायु सेवा निगम सम्बद्ध समसामयिक विषयहरू र निगमको सुधारसहितको भावि कार्ययोजनाका विषयमा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको छलफलमा सांसदहरूले अर्बौंमा किनेका चिनियाँ जहाज कौडीको भाउमा बिक्री गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन्। 

समितिमा बिहीबार भइरहेको छलफलमा सांसद प्रेम सुवालले 'चिनियाँ जहाज बिक्री गरेबापत कुन एयरलाइन्सबाट कति पैसा बुझ्नु भयो?' भन्दै पर्यटनमन्त्री सुदन किरातीलाई प्रश्नसमेत गरे। 

'कि त पहिले जहाज खरिद गर्नेलाई छानबीन गरेर कारबाही गर्नुस् कि यो बिक्री गर्नेलाई कारबाही गर्नुस्', उनले भने, 'पहिले चीनमा गएर जहाज ठीक छ भनेर किन्ने अहिले चलाउन नसक्ने भनेर बिक्री गर्ने दुवै कुरा ठीक हुन सक्दैन।'

उडान बन्द भएको ४१ महिनापछि पाँच चिनियाँ जहाज लिलामीमा उडान बन्द भएको ४१ महिनापछि पाँच चिनियाँ जहाज लिलामीमा

यस्तै सांसद नारायण खड्काले कबाडीमा बिक्री गर्न लागिएको भन्दै आपत्ति जनाए। '२०६९ सालमा ६ अर्बमा किनेको जहाज अहिले कबाडीमा बिक्री गर्ने? कुन औचित्यमा खरिद गरियो? अहिले किन घाटामा गयो? यो दुर्भाग्यपूर्ण हो। जहाज उडाउन किन नसकिएको हो? पहिले खरिद हुँदाको विषय छानबीन नगरी अहिले बिक्री किन? यो मान्य हुँदैन' उनले भने। 

यस्तै सांसद प्रकाशमान सिंहले अहिले नयाँ जहाज थप्दैमा निगम राम्रो हुन्छ भन्ने योजना के छ भन्दै प्रश्न राखे। 

'चिनियाँ जहाज किन्दा पनि उडान गर्ने नै भनिएको थियो। किन उडान हुन सकेन? यसको जवाफ खरिदकर्ता र निगमले दिनुपर्ने कि नपर्ने? थप ऋणको भारी बोकाउनेभन्दा अब निगम व्यवस्थापनमा ध्यान दिन जरुरी छ' उनले भने। 

यस्तै सांसद प्रभु साहले चिनियाँ जहाजको विषयमा देश लहडमा हिँडेको आरोप लगाए। उनले भने, 'एउटाले किन्ने, एउटाले बिक्री गर्ने यो गलत छ। यसमा किन्नु उचित थिएन भने किन कारबाही भएन? कसको चाहनामा किनियो? फेरि कसको चाहनामा बिक्री हुन लाग्यो? यो बिक्री तत्काल रोक्नुपर्छ।'

निगम यही संरचनाबाट चलाउने अन्तिम प्रयास हो, नभए व्यवस्थापन करारमा दिने हो : पर्यटनमन्त्री किराती निगम यही संरचनाबाट चलाउने अन्तिम प्रयास हो, नभए व्यवस्थापन करारमा दिने हो : पर्यटनमन्त्री किराती 


प्रकाशित : बिहीबार , पुस ५ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend