शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

विपन्न परिवारलाई मौरीसहितको घार सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
विपन्न परिवारलाई मौरीसहितको घार सहयोग

दमौली- तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ। नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो।

विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिए। 

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उनले बताए। 'एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण गर्‍यौँ । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो', उनले भने, 'त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ।'

एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो। नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।

गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा  पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए। कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

यस वर्ष पनि पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो। नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रुपैयाँमा खरिद गरेको थियो। मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उनको भनाइ थियो। रासस 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend