शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निसानले विद्युतीय सवारी बनाउने, ५ वर्षमा १७.६ अर्ब डलर लगानी गर्ने

मंगलबार, मंसिर १४ २०७८
निसानले विद्युतीय सवारी बनाउने, ५ वर्षमा १७.६ अर्ब डलर लगानी गर्ने

जापानको तेस्रो ठूलो सवारी उत्पादक निसानले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिने भएको हो। 

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी निसान मोटरले आगामी ५ वर्षमा विद्युतीय सवारी उत्पादनका लागि २० खर्ब येन (१७ अर्ब ५९ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

विश्वभर विद्युतीय सवारीको माग र उत्पादन बढ्दै गएकाले त्यसमा आफूलाई फिट गर्न निसानले उक्त लगानीको घोषणा गरेको हो। 

निसानले करिब १ दशक अघि नै विद्युतीय कार विश्व बजारमा सार्वजनिक गरेको थियो। निसान लिफको चर्चा अहिलेसम्म पनि भइरहेको छ। निसानको लिफ केही समयअघि नेपाली बजारमा समेत आएको छ। जापानको तेस्रो ठूलो सवारी उत्पादक निसानले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिने भएको हो। 

निसानले पछिल्लो १० वर्षमा विद्युतीय सवारी उत्पादन तथा प्रवर्द्धन नमा जति लगानी गरेको छ, अहिले गरिएको घोषणा त्यसको दोबर हो। निसानले टोयोटा, टेस्लाका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्ने सक्ने गरि आफ्नो लगानी विस्तार भएको जनाएको छ। 

२०३० सम्ममा निसानले २३ वटा विद्युतीय सवारी मोडल सार्वजनिक गर्ने सोमबार बताएको रोयटर्सले लेखेको छ। यसमध्ये १४ वटा पूर्ण विद्युतीय हुने छन् भने कम्पनीले अबको ८ वर्षमा लिथियम आयन ब्याट्रीको लागत ६५ प्रतिशतले घटाउने दाबी गरेको छ। 

यस्तै निसानले २०२९ सम्ममा आमुल परिवर्तन ल्याउने भनिएको सोलिड-स्टेट ब्याट्री ल्याउने घोषणा समेत गरेको छ। निसानले सबैले खरिद गर्न सक्ने विद्युतीय सवारी ल्याउने गरि काम गर्ने कम्पनीका प्रमुख कार्यकारी माकोटो युसिदाले प्रतिवद्धता जनाएका छन्। 

गत महिना बेलायतमा भएको विश्व वातावरण सम्मेलनमा अमेरिकी कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सले २०४० पछि इन्धन (फोसिल फ्युल) गाडी उत्पादन नगर्ने प्रतिवद्धतामा हस्तारक्षर गरेका छन्। तर जापानी कार उत्पादक टोयोटा, निसानलगायत कम्पनीले भने यस बारे निर्णय लिने बेला भइनसकेको भन्दै हस्ताक्षर गरेनन्। 

उद्यपी निसानले सोमबार भने २०३० सम्ममा आफूले उत्पादन गर्ने सवारी मध्ये आधाभन्दा बढी सवारी विद्युतीय वा हाइब्रिड भइसक्ने जनाएको छ। 

विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक टोयोटाले पनि विद्युतीय सवारी बनाउन २०३० सम्ममा १३ अर्ब ५० करोड डलर लगानी गर्ने घोषणा गरिसकेको छ। २०२५ सम्म टोयोटाले १५ वटा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी ल्याउने बताइसकेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend