शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चितवनमा हात्ती तथा पर्यटन महोत्सव गरिँदै, हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो नहुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २९ २०८०
चितवनमा हात्ती तथा पर्यटन महोत्सव गरिँदै, हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो नहुने

यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ। अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाएका हुन्।

चितवन- पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ। चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो।

सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन। संघका अध्यक्ष गंगा गिरीका अनुसार पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको हो। महोत्सवले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन विकासमा सहयोग पुर्‍याउने उनको धारणा छ। 

साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ। अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाएका हुन्। पाँच दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत राखिएको छ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ। स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवमार्फत लक्ष्य राखिएको छ।

चितवनको पर्यटन पवर्द्धनका लागि स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्ववोध गराउन अन्तक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेको भनाइ छ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी गराउनुका साथै स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग ‘बिटुबी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने उनले बताए। रासस 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend