शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सातामा १४ उडान गर्ने गरी रुवान्डासँग भयो हवाई सम्झौता, स्वीट्जरल्याण्डसँगको सम्झौताका लागि समय तय हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २६ २०८०
सातामा १४ उडान गर्ने गरी रुवान्डासँग भयो हवाई सम्झौता, स्वीट्जरल्याण्डसँगको सम्झौताका लागि समय तय हुँदै

काठमाडौं- रुवान्डासँग सातामा १४ उडान गर्ने गरी हवाई सम्झौता सम्पन्न भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेका अनुसार दुवै देशका वायुसेवा कम्पनीबीच सातामा १४/१४ वटा उडान गर्ने गरी सम्झौता भएको हो। 

डिसेम्बर ५ मा काठमाडौंमा दुई देशका प्रतिनिधिबीच हवाई सम्झौता भएको उनले जानकारी दिए।

लामिछानेका अनुसार काठमाडौंमा बढीमा सात वटा उडान गर्न पाउने र सातवटा भन्दा बढी उडान गर्दा भने गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने गरी हवाई सम्झौता भएको छ।

स्वीट्जरल्याण्डसँग पनि हवाई सम्झौता हुँदै

यसैगरी सरकारले स्वीट्जरल्याण्डसँग पनि दुईपक्षीय हवाई सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँगको हवाई सम्झौताका लागि मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ।

समय र मिति तय गर्ने विषयमा दुईपक्षीय छलफल भइरहेको छ। स्वीट्जरल्याण्डले फेब्रुअरीमा सम्झौता गर्ने गरी छलफल अगाडि बढाएको छ तर नेपालले भने त्योभन्दा पहिले नै गर्ने गरी छलफल गरिरहेको छ।

यसैगरी इन्डोनेसियासँग पनि हवाई सम्झौताका लागि दुईपक्षीय वार्ता भइरहेको लामिछानेले बताए। रुस र फिनल्याण्डसँग पनि हवाई सम्झौताका लागि कुराकानी अगाडि बढेको उनले जानकारी दिएका छन्।


प्रकाशित : मंगलबार, मंसिर २६ २०८००७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend