काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद बिक्रीको प्रस्ताव राष्ट्र बैंकसम्म नपुगेको जानकारी दिएका छन्।
संसदको अर्थ समितिमा बोल्दै अधिकारीले अहिलेसम्म हबिबले सेयर बिक्री गर्ने सम्बन्धमा कुनै पनि प्रस्ताव नआएको जानकारी दिए। आफूहरू सकेसम्म स्वार्थको द्वन्द्व नहुनेगरी अनुमति दिने पक्षमा रहेको उनले बताए।
‘अहिलेसम्म यसको प्रस्ताव आएको छैन तर यदि आइहाले पनि खरिदकर्ताको अवस्थाको मूल्यांकन हुन्छ। सकेसम्म हामी व्यापार व्यवसायसँग नजोडिएकै हेर्छौं’ उनले भने।
हिमालय बैंकमा रहेको हबिबको सेयर हिमालयन रिइन्स्योरेन्स कम्पनीले ३ अर्ब रुपैयाँमा खरिद गर्ने प्रस्ताव गरेको हल्ला चलेको थियो। सो सम्बन्धनमा सांसद स्वर्णिम वाग्लेले जिज्ञासा राखेका थिए।
वाग्लेले यसअघि नै विभिन्न थरीका व्यवसायमा संलग्न रहेकाहरूको नियन्त्रण रहेको हिमालयन रिइन्स्योरेन्सलाई हिमालयको अर्थपूर्ण हिस्सा दिनु कति उचित हुने हो भनेर प्रश्न राखेका थिए।
बैंकमा स्वार्थको द्वन्द्वको समस्या यसै पनि चर्केको र वित्तीय बजारलाई अझ केन्द्रीकरण गर्ने जोखिम रहेकोतर्फ राष्ट्र बैंक सचेत हुनुपर्ने उनले बताएका थिए।
वाग्लेको जिज्ञासामा जवाफ दिँदै अधिकारीले यसमा कुनै पनि प्रस्ताव नआएको उल्लेख गरेका हुन्।
पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा करिब १२ प्रतिशत सेयर रहेको छ। हबीबले पहिले नै सेयर बिक्री गर्न खोजेपनि यसले मुर्तरुप पाएको छैन। पछिल्लो समय हिमालयन रिइन्स्युरेन्ससहितका व्यक्ति तथा कम्पनीले सो सेयर किन्न चासो राखेका छन्।