शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल एयरलाइन्समा नियामकको छड्के, हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको तथ्य भेटियो

विस्तृत जाँच गरिने, जहाज नै ग्राउन्डेड हुन सक्ने

सोमबार, मंसिर १८ २०८०
नेपाल एयरलाइन्समा नियामकको छड्के, हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको तथ्य भेटियो

युरोपेली संघ (ईयू)ले समेत नेपाल वायुसेवा निगमका कारण कालोसूचीबाट हटाउन नसकिएको प्रतिवेदन नेपाललाई बुझाएको थियो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागले नेपाल एयरलाइन्सको हवाई सुरक्षा प्रबन्धको सम्बन्धमा छड्के जाँच गर्दा त्रुटीका दर्जनौँ विषय भेटिएको छ। त्रुटीहरू देखिएसँगै प्राधिकरणले नेपाल एयरलाइन्ससँग सम्बन्धित विभिन्न पक्षको विस्तृत अडिट गर्ने भएको छ। 

अपरेसन, व्यवस्थापन जस्ता विषयमा प्राधिकरणको अडिट केन्द्रित हुनेछ। प्राधिकरणको उड्डयन सेफ्टी तथा सेक्युरिटी उपमहानिर्देशकको नेतृत्वमा अडिट हुनेछ।

प्राधिकरण स्रोतका अनुसार निगमले हवाई सुरक्षा अडिटमा कागजी प्रक्रियामात्रै मिलाएर जहाज नै जोखिममा राखेर उडान गरेको तथ्यसमेत छड्के जाँचको क्रममा फेला परेको छ। ‘निगमले सिष्टम नै जोखिममा राखेर जहाज उडान गरिरहेको तथ्य फेला परेको छ,’ प्राधिकरण स्रोतले भन्यो।

युरोपेली संघ (ईयू)ले समेत नेपाल वायुसेवा निगमका कारण कालोसूचीबाट हटाउन नसकिएको प्रतिवेदन नेपाललाई बुझाएको थियो।

सो प्रतिवेदनबाट झस्किएको प्राधिकरणको हवाई सुरक्षा विभागले सोमबार छड्के चेकजाँचका क्रममा सम्पूर्ण सिष्टममै समस्या भेटेको हो। यात्रुलाई नै जोखिममा राखेको तथ्य प्राधिकरणले फेला पारेको छ।

योसँगै प्राधिकरणको हवाई सुरक्षा विभागले आगामी बुधबार, बिहीबार र शुक्रबार तीन दिनसम्म ‘फुलअडिट’ गर्ने भएको छ। ‘यो सँगै आउने नतिजाको आधारमा जहाज ग्राउन्डेड पनि हुन सक्ने छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो। 

युरोपेली संघले नेपाल वायुसेवा निगमले नेपालको हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेसँगै निगम व्यवस्थापन भने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध प्रचारबाजीमा उत्रिएको थियो। 

निगमले विज्ञप्ती जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमविरुद्ध भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएको थियो। ईयूको प्रतिवेदनमा नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सका कारण नेपाललाई कालोसूचीबाट हटाउन नसकिएको उल्लेख गरेको छ।  

प्राधिकरणले ईयूले देखाएका कमीकमजोरी सुधार गर्न नेपाल एयरलाइन्स र श्री एयरलाइन्सलाई निर्देशन दिइसकेको छ। शुक्रबार नै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण नै सोधेको छ। 


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend