शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

मंगलबार, मंसिर १२ २०८०
‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ। एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले नयाँ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ।

नारच्याङ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

म्याग्दीको नयाँ गन्तव्यका रूपमा विकास हुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुरु भएको हो। अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा सुरु भएको पदयात्रा टोलीमा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुवाहरूको सहभागिता छ।

वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेल, नेपाल सरकारका पूर्वमुख्यसचिव डा सोमलाल सुवेदी, जुद्धबहादुर गुरुङलगायत २५ जनाको टोली रहेको छ। टोलीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पैदलमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलामा बिदाइ गरे।

'मौरीज हर्गोजले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौँ', उनले भने, 'अन्नपूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टीलगायतको लाभ हामीले पाउन सकेका छैनौँ। यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।'

हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धिखर्क, भुसकेत, नारच्याङ, पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविरसम्म पैदलयात्रा गरेर फर्कने कार्यक्रम रहेको छ। पैदलयात्राका क्रममा गाउँपालिकाको प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुपर्ने पूर्वाधार र नक्सांकनका लागि सर्वेक्षण पनि गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलोपटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए। नारच्याङबाट कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ।

हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ। एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो। अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख रूपैयाँ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाखभन्दा बढी लगानी गरेका छन्।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरकी सुमिना बरुवालले बताए। अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रूपमा रहेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend