शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनकामना केबलकार २६औँ वर्षमा : हुँदैछ केबलकार स्तरोन्नतिका साथै सुविधा सम्पन्न रिसोर्टको काम

शुक्रबार, मंसिर ८ २०८०
मनकामना केबलकार २६औँ वर्षमा : हुँदैछ केबलकार स्तरोन्नतिका साथै सुविधा सम्पन्न रिसोर्टको काम

प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम प्रविधिको विकास भएकाले ४५ करोड रुपैयाँ लगानीमा स्तरोन्नतिका कामहरू गरिएको कम्पनीले जानकारी दिएको छ।

गोरखा- नेपालको पहिलो केबलकार मनकामना केबलकार २६औँ वर्षमा प्रवेश गरेको छ। केबलकार सञ्चालन भएयता प्रसिद्ध तिर्थस्थल मनकामनामा पर्यटकीय गतिविधि अझ बढेको जनाउँदै मनकामना दर्शन प्रालिले केबलकार स्तरोन्नतिका साथै सुविधा सम्पन्न रिसोर्टको काम भइरहेको जनाएको छ।    

प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम प्रविधिको विकास भएकाले ४५ करोड रुपैयाँ लगानीमा स्तरोन्नतिका कामहरू गरिएको कम्पनीले जानकारी दिएको छ।

२५ वर्ष पुगिसकेको एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टससमेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको कम्पनीले जनाएको छ। अस्ट्रियाको डोप्पेलमायर कम्पनीको डी-कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको काम सन् २०२१ मा नै सम्पन्न गरिसकेको समेत कम्पनीले जनाएको छ। 

साथै स्तरोन्नतिका बाँकीका चरणहरू सन् २०२४ को भदौ/असोज महिनासम्ममा सम्पन्न गरिने र यसको लागि सामानहरू मगाइसकेको कम्पनीले जनाएको छ। अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलका साथै केबलकारको केबल लठ्ठा फेरिने जनाइएको छ। 

साथै सन् २०२४ को अन्त्यमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ मनकामनामा केबलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको काम भइरहेको पनि कम्पनीले जनाएको छ।

४० कोठा रहने रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ। मनकामना दर्शन प्रालिको भातृ संस्था रिसोर्टस् बाई मनकामना केबलकार प्रालिबाट सञ्चालन हुने रिसोर्टको लगानी करिब ५५ करोडको हुने अनुमान रहेको कम्पनीले जनाएको छ।

अहिले वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको जनाउँदै कम्पनीले यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको जनाएको छ।

सामाजिक व्यवसायिक उत्तरदायीनीति अंगाल्दै आफूहरूले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको समेत कम्पनीले जनाएको छ। विनाशकारी गोरखा भूकम्पमा पश्चिम गोरखाका ७-८ गाविसलाई राहत सामग्री उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ। यस्तै केबलकार टिकट आम्दानीको कुल रकमको दुई प्रतिशत रकम शहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका चितवनलाई सहयोग गर्दै आएको जानकारी दिएको छ। 

मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो। केबलकारको निर्माण २०५४ माघ महिनाको अन्तिम सातामा प्रारम्भ गरी १० महिनामा नै २०५५ मंसिर ८ मा व्यावसायिक रूपले सञ्चालनमा आएको हो।

परियोजनालाई नेपाल बैंक लिमिटेडको अगुवाइमा, राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेका थिए। अपेक्षित ५ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य लिएता पनि तत्कालीन विषम परिस्थितिले गर्दा ७ वर्षमा ऋण चुक्ता भएको थियो।


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend