शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार कायम

बुधबार, मंसिर ६ २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार कायम

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिस समेतका आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट आज निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचन मण्डलको मतभारको व्यवस्था रहेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर ६ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend