आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

साउदी अरबबाट फर्किएर पुर्ख्यौली पेसा सम्हाल्दै अर्जुन, वार्षिक ७ लाख आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३ २०८०
images
साउदी अरबबाट फर्किएर पुर्ख्यौली पेसा सम्हाल्दै अर्जुन, वार्षिक ७ लाख आम्दानी

सिजनमा दैनिक छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन्। आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ। 

images
images

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे। वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए। स्वदेश फर्किएपछि उनले पुर्ख्यौली आरन पेसालाई अगाडि बढाए। 

images
images
images

गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्। आरन पेसाबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी भइरहेको गजमेरले जानकारी दिए। साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भइ पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेको उनले बताए। 

images
images

'विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। मैले स्वदेश फर्किएपछि पुर्ख्यौली पेसालाई सुरु गर्ने सोच बनाएँ। अहिले वार्षिक सात लाखसम्म आम्दानी हुन्छ', गजमेरले भने। गत वर्षमात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेको उनले बताए।

images
images

आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिँदै आएको गजमेरको भनाइ थियो। हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बञ्चरो, खुँडा, तरबार, खुकुरी, करौँती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम गर्दै आएको उनले जानकारी दिए।

सिजनमा दैनिक छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन्। आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ। 

गजमेरले भने, 'यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु।' सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति एक हजारका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो। 

यहाँ उत्पादित कृषि औजार खुर्पा दुई सयदेखि दुई हजार पाँच सय, कुटो पाँच सय, कोदालो आठ सयदेखि दुई हजारसम्म, बञ्चरो एक हजारदेखि दुई हजार पाँच सयसम्म, खुँडा एक हजार पाँच सयदेखि आठ हजारसम्म, बसिला पाँच सयदेखि एक हजार पाँच सयसम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिए। पुराना औजार मर्मतका लागि एक सय ५० र अर्चपेको ६० लिने गरेको उनले बताए। 

'आरन पेसा हाम्रो पुर्ख्यौली पेसा हो। गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दुःख पाएका थिए', गजमेरले भने, 'मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु।'

यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए। उनले भने, 'किसानले सुविधा खोज्छन्। म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु। यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ।'

सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन्। उनले भने, 'टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउँछन्। उनीहरुले कृषि औजार खरिद गरेर लैजान्छन्।' गाउँपालिकाले एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरेको गजमेरले जानकारी दिए। 

वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। त्यस्तै आरन संरक्षण तथा प्रवर्द्धनका लागि ४० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए। रासस


प्रकाशित : आइतबार, मंसिर ३ २०८००७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend