शुक्रबार, मंसिर २२ गते २०८०    
कफी दिवस

विस्तार हुँदैछ कफीको घरेलु बजार, उत्पादन नबढ्दा आयातकै भर

images
images
विस्तार हुँदैछ कफीको घरेलु बजार, उत्पादन नबढ्दा आयातकै भर

काठमाडौं- नेपालको सहरी क्षेत्रमा कफी आम पेय पदार्थको रुपमा विस्तार भइरहेको छ। केही वर्ष पहिलेसम्म धेरैको रुचिमा नपर्ने कफी अहिले धेरैको रोजाइमा पर्न थालेको छ। कफीको पेय प्रवृत्ति जसरी बढ्दै गएको छ त्यसैगरी उत्पादन नबढ्दा फेरि अर्को वस्तुको परनिर्भरता थपिएको छ।

images
images
images

कफी उत्पादनको लामो इतिहास नेपालमा भए पनि यसको उत्पादकत्वमा सुधार नहुँदा बढ्दो माग धान्न फेरि पनि आयातकै भर पर्नुपरेको छ। यसै पनि नेपालमा कुनै पनि कृषि वस्तुको उत्पादनमा उत्साहजनक वृद्धि देखिँदैन।सरकारले राख्ने लक्ष्य र तय गर्ने नाराअनुसार कहिल्यै पनि उत्पादन बढेको पाइँदैन।

images

प्रमुख खाद्यान्न बालीकै उत्पादनमा उल्लेखनीय वृद्धि नदेखिएको नेपालमा नगदे बालीका रुपमा रहेका अन्य उत्पादन त झन् सीमान्तकृत जस्तै छन्।यस्तैमा एउटा हो कफी। गुणस्तरको हिसाबले राम्रो मानिने नेपाली कफीको विश्व बजारमा समेत उच्च माग रहेको बताए पनि अहिलेसम्म उत्पादनमा खासै प्रगति भएको छैन।

images

सरकारी तथ्यांकअनुसार एक दशकअघि जति उत्पादन हुन्थ्यो करिब त्यही आसपासमा अहिले पनि उत्पादन भइरहेको छ। अर्थात् एक दशकमा नेपालले कफी उत्पादनमा प्रगति होइन अझ उल्टो ओरालो लागेको छ।

images

नेपाल चिया कफी विकास बोर्डको तथ्यांकअनुसार नेपालमा आजभन्दा ९ वर्ष पहिले उत्पादन भएको थियो गएको वर्ष त्योभन्दा न्यून कफी उत्पादन भएको छ। अर्थात् ९ वर्षमा उत्पादन क्षमतामा अझ ह्रास आएको छ। उत्पादन परिमाणमा वृद्धि भएको छैन भने उत्पादकत्वमा पनि सुधार देखिएको छैन। 

२०७४/७५ सालमा नेपालमा एक हेक्टरमा ०.१८ टन कफी उत्पादन हुन्थ्यो तर आर्थिक वर्ष २०७९/८० मा प्रति हेक्टर ०.१० टनमा  सीमित भएको छ। यो बीचमा खेती हुने क्षेत्रफल भने विस्तार भएको छ।  गएको आठ वर्षमा उत्पादनमा वृद्धि हुनुको साटो उल्टो घटेको छ। विदेशमा मात्र होइन स्वदेशमै कफीको बजार विस्तार भएको छ।

स्वयम् बोर्डले गरेको अध्ययनअनुसार नेपाली आन्तरिक कफी बजारले वर्षमा २ हजार टनसम्म खपत गर्नसक्ने देखिएको छ। यद्यपि अहिलेकै बजारमा भने यत्रो कफी खपत हुँदैन। आन्तरिक बजार विस्तार भएको तथा विदेशमा समेत सम्भावना हुँदा पनि कफीको उत्पादनमा भने खासै वृद्धि भएको छैन।

नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको बोर्डले उल्लेख गरेको छ। नेपाली कफीले विदेशमा औसतमा प्रतिकेजी १६ अमेरिकी डलर मूल्य पाएको छ। बोर्डले कफी उत्पादनका लागि आवश्यक लगानी नपुगेको उल्लेख गरेको छ। राष्ट्रिय कफी दिवसको अवसरमा बोर्डले जारी गरेको विज्ञप्तिमा किसानहरुलाई संरक्षण, व्यावसायिक खेती र ठूलो लगानीको अभावले गर्दा उत्पादन नबढेको उल्लेख छ।

पर्याप्त स्रोत साधनको अभावले गर्दा बोर्डले चाहेजति काम गर्न नसकेको उल्लेख गरिएको छ। ८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढिरहेको छ। प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ। खेती प्रणालीको विरासतको निरन्तरतामै सीमित भएको छ कफीको उत्पादन। बजार विस्तार हुँदै जाँदा त्यसको मार मुलुकको व्यापारले खेप्नु परेको छ। 

coff.png

एक वर्षकै कफीको आयात करिब ८० प्रतिशतले बढेको छ। अर्थात् २०७८/७९ मा नेपालमा २७९ टन कफी आयात भएको थियो। त्यसपछिको वर्ष ४५० टन आयात भएको छ। आन्तरिक उत्पादन स्थिर हुँदा बजारमा माग बढेपछि आयात बढेको हो। 

आर्थिक वर्ष २०७२/७३ मा आयात र निर्यात हुने कफीको परिमाण करिब बराबर थियो। २०७४/७५ मा कफीको आयात १६३ टन थियो। जुन २०७९/८० मा बढेर ४५० टन पुगेको छ। यो बीचमा उत्पादन भने उल्टो घटेको छ। अर्थात् २०७४/७५ मा ४७५ टन उत्पादन भएको थियो भने २०७९/८० मा ३९१ टनमा सीमित भएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ