काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपतकालीन अपिल जारी गरेको छ।
उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ। आईएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपतकालीन सहयोग अपिल जारी गरेको हो। आईएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपतकालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो।
आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ। राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आईएफआरसी कार्यालयले जनाएको छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो। भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ। भूकम्पबाट प्रारम्भिक तथ्याङ्कानुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ।
आईएफआरसीले विज्ञप्तिमा भनेको छ, 'जाजरकोटमा भूकम्प गएलगत्तै आईएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको छ। रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको छ। स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैरखाद्य सामग्री, वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको छ।'
दश करोड सहयोग
आईएफआरसीले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड सहयोग उपलब्ध गराएको थियो। स्वीट्जरल्याण्डको जेनेभास्थित आईएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य आपतकालीन कोषमार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो।
आईएफआरसीका महासचिव जगन चापागाईँले जाजरकोट भूकम्पपश्चात तत्काल सो रकम उपलब्ध गराउने जानकारी दिँदै नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताएका थिए। उनले सामाजिक सञ्जालमा भनेका छन् 'आईएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपतकालीन अपिल जारी गरेको छ। हामी पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि थप सहयोग उपलब्ध गराउँछौँ।'
आईएफआरसीका काठमाडौंस्थित कार्यक्रम संयोजक तथा प्रवक्ता हर्भे गजेउले नेपाल रेडक्रसले पहिलो दिनदेखि नै भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन्।
उनले भने, 'आईएफआरसी तथा यसका साझेदारको सहयोगमा प्रभावित जिल्लामा महत्त्वपूर्ण आपतकालीन सेवा तथा राहत सहयोग प्रदान गरिरहेको छ। पहाडी क्षेत्रमा रहेका यी जिल्ला पहुँचका दृष्टिबाट तुलनात्मकरूपमा कठिन छन्। अतिसंकटासन्न व्यक्तिसम्म पुग्नुपर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ र समय घर्किरहेको छ। यस्तो परिस्थितिमा अझ विशेषरूपमा जाडो याम आउन लागेको समयलाई ध्यानमा राखी भूकम्पबाट प्रभावित परिवारलाई नेपालमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय महासंघले अपिल जारी गरिरहेको छ। अन्तर्राष्ट्रिय महासंघ तथा यसका साझेदारहरू नेपाल रेडक्रसले यस क्षेत्रमा प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन काम गरिरहेको समयमा यस प्रक्रियामा यस सोसाइटीलाई सहयोग गर्नका लागि निरन्तर सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछन्।'