आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान

images
शनिबार, कात्तिक २५ २०८०
images
फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो चार स्थान

तिहारमा मात्रै करिब ३५ करोड रूपैयाँ बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ।

images
images
images

दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उनले बताए।

images
images

महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेले स्पष्ट पारे। महानगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गर्दै आगामी दिनमा अझ व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ।

images
images

नेपाल फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए। उनले भने, 'स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्यांक छ।'

विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सो अवसरमा जानकारी दिइयो। भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ। अध्यक्ष तामाङले उपभोक्तालाई नेपाली उत्पादनको प्रयोगका लागि आह्वान गरिएकाले अस्वाभाविक मूल्यवृद्धि नगर्न र सहुलियत मूल्यमा उपलब्ध गराउन किसान र व्यवसायीलाई आग्रह गरे।

नेपाल चेम्बर्स अफ कमर्श काठमाडौंका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्‍याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पुर्‍याउन आह्वान गरे। उनले भने, 'स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस्। सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ।'

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सुनिता न्हेमाफूकीले मुलुकको फूलको ठूलो बजार काठमाडौं उपत्यका भएकाले महानगरपालिको स्वदेशी उत्पादन प्रवर्द्धन र सम्मान गरौँ भन्ने अभियानले किसानलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिए।

राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले नेपाल बहुधार्मिक, बहुसास्कृतिक र बहुभाषिक, बहुजातीय मुलुक भएकाले प्रत्येक दिनहुँजसो मनाइने पर्व र सांस्कृतिक कार्यक्रममा कुनै न कुनैरुपमा फूलको प्रयोग हुँदै आएको बताए। उनले भने, 'आयात र निर्यातबीचको सन्तुलन कायम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न फूललगायत उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ। तिहारमा नेपाली फूलको प्रयोग अभियान पनि त्यसको एउटा हिस्सा हो।'

गाउँघरमा आफ्नै खेतबारीमा उत्पादन हुने भए पनि अधिकांश किसानले यसलाई व्यावसायिक प्रयोजनसित जोड्न सकेका छैनन्। तिहारमा मात्रै सहरी क्षेत्रमा झन्डै ४० लाख थान माला बिक्री हुने गरेकामा त्यसमध्ये सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ। तिहारमा मात्रै करिब ३५ करोड रूपैयाँ बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend