आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पदमार्गमा आश्रयस्थल, पर्यटकलाई पदयात्रा गर्न सहज

images
शनिबार, कात्तिक २५ २०८०
images
पदमार्गमा आश्रयस्थल, पर्यटकलाई पदयात्रा गर्न सहज

भुइँमा म्याट्रेस बिछ्याइएको आश्रयस्थलमा खाना पकाउने भाँडाको पनि व्यवस्था छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ। पर्यटन विभाग, अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चार आश्रयस्थल निर्माण गरिएका हुन्।

images
images
images

आश्रयस्थल निर्माण भएपछि बस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएको नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा जाने पदमार्गलाई सहज भएको स्थानीयवासी तेज गुरुङले बताए। 'सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गरिएका छन्,' उनले भने, 'पर्यटकको चाप बढेकाले आश्रयस्थलको सङ्ख्या र क्षमता बढाउनुपर्ने देखिन्छ।'

images
images

चारैतिर काठले बारेर सम्धिखर्क र गुफाँफाटमा बनाइएको आश्रयस्थलमा दश जना बस्न मिल्छ। आधार शिविर र भुसकेतमा ढुंगा माटोको पर्खाल तथा जस्तापाताको छानो भएको आश्रयस्थलमा २० जनाको क्षमता छ। भुइँमा म्याट्रेस बिछ्याइएको आश्रयस्थलमा खाना पकाउने भाँडाको पनि व्यवस्था छ। पर्यटकले खाना पकाएर खाने र सफा गरेर त्यहीँ छाड्ने व्यवस्था मिलाइएको छ।

images
images

दसैँयता करिब चार सयभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर गएका छन्। शुक्रबार मात्रै ६० सङ्ख्यामा पर्यटक आधार शिविरतर्फ गएका छन्। पदमार्ग, झोलुंगे पुल, विश्रामस्थल, आश्रयस्थललगायत पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलोपटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका-४ का वडा सदस्य श्याम पुर्जाले बताए।

'विगत वर्षमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकप्टरबाट आउने पर्वतारोहीको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरद्याममा सुनसान हुने गर्दथ्यो,' उनले भने, 'दसैँपछि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन्।'

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म नीलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरिएको छ।

एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्ने अन्नपूर्ण नर्थ बेसक्याम्पमा आकर्षित भएका काठमाडौंका तीन पर्यटकलाई आधार शिविर घुमाएर शुक्रबार फर्कनुभएका फोटो पत्रकार सुरेन गुरुङले बताए।

'पोखरा, बेनी, काठमाडौंलगायत ठाउँबाट आफै टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुगेर फर्किनेको मौरिस हर्गोज पदमार्गमा चहलपहल छ,' उनले भने, 'आश्रयस्थलको क्षमता विस्तार र संरक्षणसँगै सरसफाइमा पनि ध्यान दिनुपर्ने देखिन्छ।'

सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। हर्गोजले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो। हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो।

अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुंगे पुल, आश्रयस्थललगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरकी सुमिना बरुवालले बताए। अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रुपमा रहेको छ। 


प्रकाशित : शनिबार, कात्तिक २५ २०८०१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend