आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

घोडाको फेरिएको काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २३ २०८०
images
घोडाको फेरिएको काम

घोडेपानी घोडा व्यवसायी समिति अन्तर्गत हाल १२ वटा घोडा छन्। घोडा बेरोजगार युवाका लागि आम्दानीको स्रोत बनेको छ। 

images
images

म्याग्दी- सडक र सवारी साधनको पहुँच नहुँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो। पहिले घोडा चढ्नेहरु अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन्। घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने गरेका छन्।

images
images
images

टोल टोलमा मोटर गुड्ने सडक पुगेसँगै घोडा-खच्चर विस्थापित हुँदै गएका छन्। पर्यटकीयस्थलमा भने घोडाको काम फेरिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका घोडा व्यवसायी याम पुन बताउँछन्। 

images
images

'पहिले गाउँका सम्पन्न व्यक्ति चढेर हिँड्ने घोडा अहिले पर्यटकको यातायातको साधन बनेको छ,' उनी भन्छन् 'असोज- कात्तिक र चैत-बैशाखको याममा घोडालाई पर्यटक बोक्न भ्याइनभ्याइ हुन्छ।'

images
images

म्याग्दीको घोडेपानी, कास्कीको उल्लेरी, नाङ्गीठाटी, घान्द्रुक, टाढापानी, चुइने, मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्ड पुग्न हिँड्न नसक्ने पर्यटकका लागि घोडा सहयोगी बनेका छन्।

घोडेपानी-घान्द्रुक क्षेत्रमा पर्यटक बोक्न एक सयभन्दा बढी घोडा रहेका छन्। घोडेपानीका घोडा व्यवसायी विरेन गर्बुजा पुनले घोडेपानीबाट पुनहिल जान तीन हजार पाँच सय र अन्य ठाउँमा जाँदा प्रतिदिन एक सय रुपैयाँका दरले शुल्क लिने गरिएको बताउँछन्। 

'बालबालिका र वृद्धबृद्धा पर्यटकले घोडा प्रयोग गर्छन्। रमाइलोका लागि युवा र वयस्क उमेरका पर्यटकले पनि घोडाचढी सुविधा लिन्छन्,' उनी भन्छन्, 'शुल्कको केही प्रतिशत रकम पदमार्ग मर्मत र घोडा दौड प्रतियोगिताका लागि कोषमा राखेका छौँ।'

घोडेपानी घोडा व्यवसायी समिति अन्तर्गत हाल १२ वटा घोडा छन्। घोडा बेरोजगार युवाका लागि आम्दानीको स्रोत बनेको छ। 

बिरामी परेका र जङ्गलमा फसेका पर्यटकको उद्धारको काममा पनि घोडा प्रयोग हुने गरेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुन बताउँछन्। काठमाडौँकी जिया थापा गत हप्ता कास्कीको उल्लेरी हुँदै घोडा चढेर घोडेपानी घुम्न आएकी थिइन्। उकालोमा घोडा चढेर यात्रा गर्न पाउँदा रमाइलो महसुस भएको उनले प्रतिक्रिया दिइन्। मुस्ताङको झारकोटदेखि मुक्तिनाथ मन्दिरसम्म जानका लागि पनि घोडाचढी सुविधा छ।

एक पटक यात्रा गरेको चार सय रुपैयाँ शुल्क लिने गरेको घोडा व्यवसायी हर्क गुरुङको भनाइ छ।

बयाननब्बे वटा घोडा मुक्तिनाथमा तीर्थयात्री बोक्न प्रयोग भएका छन्। एक दिनमा चारदेखि छ पटकसम्म एउटा घोडाले पालो पाउने गरेको उनी बताउँछन्। एउटा घोडाको मूल्य एक लाख पचास हजारदेखि दुई लाखसम्म पर्छ।

मुस्ताङ र ढोरपाटन क्षेत्रका घोडा मानिस चढ्न मिल्ने अग्ला र बलिया मानिन्छन्। घोडा संरक्षण र पर्यटन प्रर्वद्धन गर्न घोडा दौडप्रतियोगिता आयोजना हुने गरेको छ। 

मुक्तिनाथमा यार्तुङ पर्व, घान्द्रुकमा नयाँ वर्षको अवसरमा आयोजना गरिने घोडादौड प्रतियोगिता विशेष आकर्षणको रुपमा छन्। घोडा दौडप्रतियोगिताले पर्यटक भित्र्याउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८०१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend