आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

images
सोमबार, कात्तिक २० २०८०
images
तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

भक्तपुरमा उत्पादन गरिएको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ।

images
images

भक्तपुर- नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने। पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ। 

images
images
images

त्यसैले तिहार जति नजिक आउँदैछ, बजारमा पालाको माग पनि उत्तिकै बढ्दो छ। पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ। तिहारको पालाको माग धान्न भक्तपुरका विभिन्न स्थानमा धमाधम पाला बनाइँदैछ।

images
images

कुमाले समुदाय माटाका अन्य भाँडा बनाउन छाडेर अहिले पाला बनाउन व्यस्त छन्। 'तिहारमा अरु भाँडा त्यति बिक्री पनि हुँदैन, त्यसैले अहिले अन्य भाँडा बनाउन छाडेर पाला बनाउँदैँ आएका छौँ', भक्तपुर पोटरी स्क्वायरमा पाला सुकाउन व्यस्त पञ्चमाया प्रजापतिले भनिन्, 'चाडपर्व अनुसार पनि भाँडा बनाउनुपर्छ, दसैँमा धुपौरो, कुलिँचाको माग बढेजस्तै तिहारमा पालाको माग बढी आउँछ।'

images
images

तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको पञ्चमायाले बताइन्। 'बिहान सबेरै उठेर अघिल्लो दिनमै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने तथा सुकिसकेको पालालाई पालोमा राखेर भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौंँ, अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन', उनले भनिन्।

पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ। आजभोलि प्रविधिले माटोको भाँडा बनाउने पेसा पनि सहज बन्दै गएको छ। मेसिनले नै तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ। यसरी बनाएको पालालाई घाममा सुकाइन्छ। सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्णरुपमा तयार हुन्छ र मागअनुसार बजारमा आपूर्ति गरिन्छ।

आजभोलि भक्तपुरका पोटरी स्क्वायर (तालक्व)का कुमालेहरु मात्र होइन सुजमारी, लिवाली, तुमुचो, सूर्यविनायक, चोलिंचा, च्याम्हासिहंलगायतमा माटोका भाँडा बनाउने पेसामा संलग्न कुमालेहरु अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन्। 

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ। धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ। तिहारको लक्ष्मी पूजाका दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युतीय बत्तीको प्रयोगसमेत उच्च हुने गरेको छ। तिहारमा बिजुलीका रंगीचंगी बत्ती बालेर झिलिमिली पार्ने गरे पनि अनिर्वाय रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन्। केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन पनि देखिएको थियो तर दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएको छ। 

पालाको माग बर्सेनि बढ्दो रहेको कुमालेहरु बताउँछन्। विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षित तथा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको पाला व्यवसायी विनोदकुमार प्रजापति बताउँछन्।

कुमालेहरुले तयार पारेको पाला थोक व्यापारीलाई बिक्री गरिन्छ। थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रूपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पुर्‍याउने गरेका छन् ।

भक्तपुरमा उत्पादन गरिएको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २० २०८००८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend