आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि राष्ट्रपतिको आह्वान

images
सोमबार, कात्तिक २० २०८०
images
अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि राष्ट्रपतिको आह्वान

नेपालमा लगानीका क्षेत्र बढ्दै गएको र लगानी सहज बनाउनका लागि कानून निर्माण भइरहेको उनले बताए।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।

images
images
images

'नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानून निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान गर्दछु', राष्ट्रपति पौडेलले भने।

images
images

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको नेपालमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे।

images
images

'नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईँहरू सबैलाई आह्वान गर्दछु', उनले भने।

राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे।

उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे। 'आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो। साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन्। तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्', उनले भने।

राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए। 'तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु', उनले भने।

राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए। 'यसले आर्थिक वृद्धिलाई  मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्', राष्ट्रपति पौडेलले भने, 'व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन्।'

उनले उद्यमशीलता र व्यापारले विश्वव्यापी बहुपक्षीयतावादलाई सबलीकरण गर्न योगदान गर्ने र पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए। 'दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ', राष्ट्रपति पौडेलले भने।

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक भएको र यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायको लागि सम्पत्ति भएको उनको भनाइ थियो। उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार भएको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गरेको उल्लेख गरे।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेमा उनले विश्वास व्यक्त गरे। सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे। सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र नभइ नेपालको आर्थिक विकास र दिगोपनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, कात्तिक २० २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend