आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कञ्चनपुरमा खाद्यले थाल्यो धान खरिद, यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य

images
आइतबार, कात्तिक १९ २०८०
images
कञ्चनपुरमा खाद्यले थाल्यो धान खरिद, यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रूपैयाँ तोकिएको छ। कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।

images
images
कञ्चनपुर- खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ। यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन्।
 
विगतमा वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन्। जिल्लास्थित लिमिटेडका शाखा प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद थालिएको बताए। कम्पनीले यस वर्ष जिल्लामा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए।
 
'हामीले गत वर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल मात्रै खरिद गरेका थियौँ। यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ', मोक्तानले भने, 'अहिलेसम्म तीन सय १६ क्विन्टल खरिद गरिसकेका छौँ। किसानको आउने क्रम जारी छ।'
 
उनले यसपटक सरकारले धानको मूल्य समयमै तोकेको र किसानले पनि राम्रो धान ल्याइराखेकाले लक्ष्यअनुसार खरिद हुने बताए। 'गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकिएन यो वर्ष राम्रो धान आएको छ', मोक्तानले भने, 'यस वर्ष धान भित्र्याउने बेलामै खरिद गर्न सुरु भएकाले गत वर्षभन्दा बढी आउँछ।'
 
कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँबाट धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै खरिद गर्ने जनाएको छ।
 
सरकारले विगतमा ढिलो गरी धान खरिद गर्दा आफूहरु बिचौलियाको मारमा पर्ने गरेको भन्दै यस वर्ष समयमै खरिद गर्दा खुसी भएको किसान विष्णुदत्त पन्तले बताए। 'अघिल्ला वर्षमा सरकारले ढिलो गरी खरिद गर्दा सस्तोमै बिक्री गर्न बाध्य हुन्थ्यौँ', उनले भने, 'हामीलाई भण्डारणको समस्या भएकाले यसपटक सहज भएको छ।'
 
सरकारले यस वर्ष तिहारअघि नै धान खरिद गर्दा धेरै सजिलो भएको खुसी रानाले बताइन्। 'चाडपर्व मनाउन र हिउँदे बाली लगाउन यसपटक राम्रो भयो',उनले भनिन्।
 
मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रूपैयाँ तोकिएको छ। कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend